बुटवल । नेपालको नया“ संविधान जारी भएसंगै आर्थिक समृद्धिको ढोका खुलेको र सबैतिर आशाको सञ्चार भएपनि त्यसअनुरुप दलहरु अगाडि नबढ्दा क्रमशः निराशा बढेको भन्दै यस क्षेत्रका उद्यमी, व्यवसायीहरुले दलहरुको ध्यानाकर्षण गराएका छन ।
संविधान निर्माणले लामो समयदेखिको राजनीतिक संक्रमणकालको अन्त्य भएको र मुलुक आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने आधार तय भएको उल्लेख गर्दै उनीहरुले कतिपय दल र अहिलेको सरकारका व्यवहारले निजीक्षेत्रको उत्साह कमजोर बनाएको गुनासो गरे ।
नेपाल उद्योग तथा व्यवसायी महासंघको बुधबार बुटवलमा भएको प्रदेश ५ परिषद् भेलामा सहभागी विभिन्न घटकका उद्यमी व्यवसायीहरुले राजनीतिक दलहले जनाएको प्रतिबद्धताको कार्यान्वयन नभएको आरोप लगाए । संविधानको कार्यान्वयन गर्दै आर्थिक समृद्धिका लागि अभियान सञ्चालन गर्नुपर्नेमा कतिपय दलहरुमा सत्ताकेन्द्रित राजनीति र गैरजिम्मेवारीपना हावी भएको उनीहरुको गुनासो थियो ।
एमाले निकटका उद्यमी, उद्योगी, व्यवसायीहरुको संगठनका रुपमा यो महासंघ ५ वर्ष अघि गठन भएको थियो । महासंघ ७ वटै प्रदेशमा यस खालका भेलाहरु गर्दै आएको छ । सोही क्रममा बुटवलमा पा“च नम्बर प्रदेश स्तरीय भेलाको आयोजना गरिएको थियो ।
उक्त महासंघमा विभिन्न आठ वटा घटक संगठनहरु आबद्ध छन । तिनै घटक संगठनका प्रमुख तथा प्रतिनिधिहरुले भेलामा उपस्थित एमालेका नेताहरुसमक्ष संविधान जारी गर्ने देखि अहिले कार्यान्वयनको चरणका बेलामा समेत पार्टीले लिएको स्पष्ट अडानको प्रशंसा गरेका थिए ।
पार्टीले लिएका सही अडान, केपी ओली नेतृत्वको सरकारले प्रस्तुत गरेको लोकप्रिय बजेट र नीति तथा कार्यक्रमलाई ओझेल पार्ने गरी अहिलेको सरकार लागेको भन्दै उनीहरुले देशव्यापी खबरदारी गर्नुपर्नेमा जोड दिएका थिए । संविधानले आशा जगाए पनि त्यसपछिका दलीय स्वार्थका गतिविधिले निराशा बढाएको बताएका थिए । उनीहरुले समृद्ध मुलुक निर्माणका लागि आफूहरु राज्यका निकायसित हातेमालो गरेर अगाडि बढ्न तयार रहेको पनि बताए ।
नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठन, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, नेपालराष्ट्रिय पर्यटन व्यवसायी संगठन, नेपाल निर्माण उद्योग परिषद्, नेपाल राष्ट्रिय बाणिज्य संघ, नेपाल उद्योग संघ, निर्माण सामग्री सम्बद्ध व्यवसायी संघ तथा प्रगतिशील वैदेशिक रोजगार मञ्चलगायतका संगठनहरु यो महासंघमा आवद्ध छन । तिनै घटक संगठनका नेताहरुले संविधान जारी भएसंगै स्थायित्वको आशा पलाए पनि त्यस अनुरुपका काम नहुनु दुःखद् रहेको बताएका हुन् । राजनीतिक दल र नेताहरूले प्रतिबद्धता जनाएपनि अन्त कतैका प्रभाव र दबाबका कारण संविधान कार्यान्वयनमा गम्भीर नभएको भन्दै निराशा व्यक्त गरेका थिए ।
भेलामा पा“च नम्बर प्रदेशका सबै जिल्लाका ४ सय ५० जना प्रतिनिधि सहभागी थिए । नेपाललाई विकासशील मुलुकमा स्तरोन्नति गर्न दोहोरो अंकको आर्थिक वृद्धि आवश्यक रहेको र त्यसका लागि आवश्यक लगानी गर्न, हातेमालो गर्न आफूहरु तयार रहेको प्रतिबद्धता जनाउ“दै उद्यमी, व्यवसायीहरुले पार्टीले स्पष्ट योजनाका साथ उचित संरक्षण र निर्देशन दिन जरुरी रहेको बताएका थिए ।
कार्यक्रममा बोल्दै एमाले स्थायी समितिका सदस्य तथा महासंघका इन्चार्ज तथा मुकुन्द न्यौपानेले मुलुकको राष्ट्रियता कमजोर पार्न एमालेका विरुद्ध घेराबन्दी भइरहेको बताए । उनले एमालेलाई कमजोर बनाउन सकियो भने नेपालको राष्ट्रियता, स्वाभिमान र स्वाधीनतासमेत कमजोर बनाउन सकिन्छ भन्दै थुप्रै खालका शक्तिहरु अहिले षड्यन्त्रमा लागेको भन्दै सतेच र जिम्मेवार भएर प्रस्तुतु हुन सबैलाई निर्देशन दिए । समाजवाद उन्मुख पु“जीवादको विकास गर्न, राष्ट्रिय पु“जीको संरक्षण र सही सदुपयोग गर्नका लागि पनि अबको चुनावमा एमालेले नै जित्नुपर्ने भन्दै उनले उद्योगी, व्यवसायीलाई मुठीदान अभियान चलाउन पनि आग्रह गरे । खुला र खुलस्त बनेर प्रस्तुत हुन र कुनै पनि प्रकारको जालझेलमा नलाग्न उनले कार्यकर्तालाई निर्देशन दिएका थिए ।
कार्यक्रममा एमालेका स्थायी समितिका सदस्य तथा पूर्व मन्त्री छविलाल विक, प्रदेश संगठन कमिटीका सह–संयोजक तथा पूर्व मन्त्री दलबहादुर राना, एमाले केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज लिला गिरीलगायतका नेताहरुले कार्यक्रममा सहभागि उद्योगी ब्यवसायीहरुलाई फजुल खर्च कम गरेर समाजसेवामा सहयोग गर्न आग्रह गरेका थिए ।
महासंघ अन्तर्गतका घटकका नेताहरु लक्ष्मीदास मानन्धर, डेकेन्द्र गौतम, हिराध्वज शाह, यमबहादुर श्रेष्ठ, श्रीप्रसाद मैनाली, धनराज आचार्य, लंकबहादुर केसी तथा प्रेमप्रसाद पौडेललगायतले समृद्धिका लागि पार्टीले लिएको नीति र अडानमा आफूहरु प्रतिबद्ध रहेको बताएका थिए ।
महासंघका प्रदेश कमिटीका संयोजक डेकनाथ गौतमको अध्यक्षतामा भएको कार्यक्रममा सह–संयोजक हिराध्वज शाहले स्वागत, आर्थिक विभाग प्रमुख बालाराम भट्टराईले धन्यवाद र सचिव केशव पन्थीले सञ्चालन गरेका थिए ।
नेपाल उद्योग तथा व्यवसायी महासंघको प्रदेश परिषद् भेला
