काठमाडौं, । हुलाक कार्यालयका कर्मचारीहरुले कामै नभएको गुनासो गरेका छन् । जिल्ला हुलाक कार्यालय झापाका कर्मचारीहरुले कामै नभएकाले घाम तापेर बस्नु पर्ने अवस्था आएको बताएका हुन् । कुनै बेला व्यक्तिगत, पारिवारिक, सामाजिक र सरकारी सूचना बाहकको रुपमा रहेको हुलाक कार्यालय अहिले कामविहीन बन्दै गएको यो बलियो प्रमाण हो ।
विक्रम संवत १९३५ सालदेखि केन्द्रदेखि गाउ“, टोल हु“दै घर–घरसम्म सूचना बाहकको जिम्मेवारी पाएको हुलाक कार्यालय सूचना, संचार र प्रविधिको विकासस“गै बेकामे बन्दै गएको छ । समय बदलिए पनि सरकारले सोही अनुसारको कार्य दिन नसक्दा हुलाक कार्यालयहरु कामविहीन बन्न पुगेका हुन् ।१७ वटा इलाका र ३७ वटा अतिरिक्त हुलाक रहेको झापाका अधिकांश हुलाक कार्यालयहरुमा सरकारी चिठीपत्र तथा डकुमेन्टस्हरु मात्रै आउने र पठाउने काम हुने गरेको छ । व्यक्तिगत र पारिवारिक प्रयोजनका लागि हुलाक पुग्ने सेवाग्राहीको संख्या ज्यादै न्युन छ । कार्यालय समयमा अधिकांश हुलाकका कर्मचारी हाजिर गरेर घर फर्किन्छन् भने कार्यालयमा रहेका कर्मचारी गफ गरेरै समय बिताउने गरेका छन् । कामै नभएपछि घाम तापेर समय बिताउनु परेको उनीहरुले स्वीकार गरेका छन् ।
देशभर ७० जिल्लामा हुलाक कार्यालय छन् । ८ सय ४२ वटा इलाका हुलाक कार्यालय र ३ हजार ७४ वटा अतिरिक्त हुलाक रहेका छन् । जसमा करिब २० हजार कर्मचारी छन् । झापामा मात्रै दरबन्दीका १ सय ८१ कर्मचारी छन् । जिल्ला हुलाक कार्यालय झापाका प्रमुख रामहरी खतिवडाले हुलाकका कर्मचारी फुर्सदिला भएको स्वीकार गरे ।
उनले तल्लो तहसम्म संरचना भएको हुलाक र यसका कर्मचारीलाई सरकारले सदुपयोग गर्ने समय आएको पनि स्पष्ट पारे । सरकारले बेलैमा बदलिदो परिवेश अनुसारको काम दिन नसक्ने हो भने हुलाक कार्यालय जस्तै अन्य सरकारी कार्यालयहरु पनि कामविहीन हु“दै जाने निश्चित छ ।
कार्यालयमा कामै छैन, घाम तापेर बस्नुपर्छ ः हुलाक कर्मचारी
