बाबुकाजी कार्की
यस वर्षको माध्यमिक शिक्षा परीक्षा १० (एसएलसी) यही चैत ३ गते बिहानदेखि सञ्चालन हुँदैछ । एसएलसी लेटर ग्रेडिङ मूल्याङ्कन पद्धतिको अन्योल र अनविज्ञताले परीक्षार्थीलाई आफ्नो नतिजाको बारेमा रणभूल्ल बनाएको छ । गत वर्ष सरकार र सरोकार पक्षबीच प्रचुर संवाद र सहकार्यविना नै ल्याइएको यस मूल्याङ्कन पद्धति बारे अझै आम रूपमा स्पष्ट भइसकेको छैन । लेटर ग्रेडिङ मूल्याङ्कन प्रणालीका विभिन्न पक्षमा अन्योल अझै जिज्ञासाको विषय बनेको छ । कसैले पनि फेलको बिल्ला भिर्नु नपर्ने हौवाको वास्तविकता के हो ? ग्रेडिङ प्रणालीको नतिजाको रोजगारीमा के हैसियत हुने ? विभिन्न विषयमा उच्च शिक्षा हाँसिल गर्ने विद्यार्थीको अक्षराङ्कन लब्धांक पत्रको मान्यताका आधार के–के हुन् ? लामो समयदेखि अङ्काअङ्कन पद्धतिअनुसार विद्यार्थीको उपलब्धि स्तर ५० प्रतिशत कटाउन नसकेको वास्तविकतालाई ओझल पार्न मात्र यो प्रणाली ल्याइएको त होइन ? पठनपाठनलाई सुदृढ नगरिकन मूल्याङ्कनलाई मात्र परिवर्तन गरेर उन्नत गुणस्तरीय शिक्षाको अपेक्षा गर्नु वीरबलको खिचडी नहोला भन्न सकिन्न । परीक्षाको मुखमा आउँदासम्म पनि लेटर गेडिङ पद्धतिको कार्य्विधि संशोधन गर्नुले सरकार समेतले पर्याप्त गृहकार्य नगरेको पुष्टि हुन्छ । हतपतको काम लतपत भएर निर्दोष विद्यार्थी र अभिभावकले परीक्षाफल प्रकाशित भएपछि पनि उच्च शिक्षाका लागि अन्योलको कारण अनावश्यक तनाव र धपेडी खेप्नु नपर्ला भन्न सकिन्न । सरकारी अकर्मण्यता र गैर जवाफदेहिताको कारण विगत वर्षमा लेटर ग्रेडिङ प्रणालीबाट उत्तीर्ण भएका प्राविधिक धारका विद्यार्थीले थप अध्ययनका लागि लामो समयसम्म भौतारिनुपरेको थियो । हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने रोग अन्य क्षेत्रमा जस्तै शिक्षा क्षेत्रमा सल्केको यथार्थ कतिपय शैक्षिक नीति, नियम व्यावहारिकताको कसीमा फिका साबित हुनुले पुष्टि गर्छ ।
वि.सं. १९९८ मा सबैभन्दा बढी ७७.७८ प्रतिशत र वि.सं. २०३८ मा सबैभन्दा घटी १६.६८ प्रतिशत उत्तीर्ण भएको देखिन्छ । एसएलसी परीक्षाको विषयगत औसत प्राप्ताङ्क हेर्दा अङ्ग्रेजीमा सबैभन्दा घटी ३३.२४ र सबैभन्दा बढी सामाजिकमा ४८.०४ भएको पाइन्छ । यति लामो समयसम्म विद्यार्थीका उपलब्धि स्तर ५० प्रतिशत पनि नपुग्नुमा विद्यार्थी मात्रै दोषी छन् त ? शतप्रतिशत उपलब्धि स्तर पु¥याउन राज्य, अभिभावक, विद्यालय, विद्यार्थी र नागरिक समाजलगायतको भूमिका कस्तो हुनुपर्छ ? निक्र्यौल गर्न विलम्ब भइसकेको छ । शिक्षा क्षेत्रमा धेरै अभ्यास र लगानी भए पनि विद्यार्थीको उपलब्धिमा झन् ह्रास आउनु गम्भीर चिन्ताको विषय हो । तथापि एसएलसी परीक्षामा अधिकतम अङ्क ल्याएर उत्कृष्ट स्थानमा हाँसिल गर्न परीक्षार्थीले आफ्नो अध्ययनलाई घनीभूत बनाएका छन् । विद्यार्थीको परीक्षा तयारीलाई अझ सहज र प्रतिफलमुखी बनाउन निम्न कुराले टेवा पु¥याउन सक्छ ।
परीक्षा तयारीको समयमा स्वास्थ्यको बारेमा विशेष चनाखो हुनुपर्छ । स्वस्थकर आहरबिहार र सहज परिश्रमप्रति विशेष ध्यान दिनुपर्छ । परीक्षालाई सहज रूपमा आत्मसात् गरेर सकरात्मक सोचले दिने मनस्थिति बनाउनुपर्छ ।
मानसिक एवम् शारीरिक क्षमताभन्दा बढी थकान हुने गरी अनिँदोसमेत बसेर लगातार पढ्दा स्मरण शक्तिमा ह्रास आउँछ । शारीरिक तथा मानसिक थकानका कारण आफूले सोचे जस्तो जाँच दिन सकिन्न । अध्ययन गर्दा पाठ्यपुस्तकको मात्र भर नपरेर पाठ्यक्रमको पनि अध्ययन गर्ने गराउनेतर्फ शिक्षक विद्यार्थीले ध्यान दिनुपर्छ । किनकि कहिलेकाहीँ पाठ्पुस्तकले नसमेटेको तर पाठ्यक्रममा भएको विषयवस्तुबाट पनि प्रश्न सोधिएका छन् ।
कठिन महसुश गरिएका विषयलाई अलि बढी महत्व दिँदै दैनिक समय तालिका बनाएर सबै विषयलाई समानुपातिक रूपमा नियमित अध्ययन गर्ने ।
सहपाठीहरूको सानो समूह बनाएर छलफल गरेर पढ्ने बानी बसाल्ने । विगतका प्रश्नको उत्तर लेख्ने अभ्यास गर्ने र आफ्नो विषय शिक्षकलाई देखाएर आवश्यक सल्लाह लिन अल्छी गर्नुहुन्न । परीक्षा दिन जाँदा मैले राम्रोसँग जाँच दिन्छु र राम्रो नतिजा आउंँछ भन्ने दृढता विश्वास एवम् उच्च मनोबलको साथ परीक्षा हलमा प्रवेश गर्नुपर्छ ।
विषयअनुसार आवश्यक सामग्री कलम, पेन्सिल, रुलर, क्यालकुलेटर आदिको घरबाट हिँड्नु अगाडि नै तयार गरेर बोक्नुपर्छ । परीक्षा केन्द्रको वस्तुस्थिति र दूरी, घरबाट पुग्न लाग्ने समय र साधनको उपलब्धताबारेमा अवलोकन पहिलै नै गर्दा सहज हुन्छ ।
प्रवेशपत्र तथा उत्तर पुस्तिकामा लेखिएका निर्देशन परीक्षा सुरु हुनु अगावै पढेर सकी पालना गर्नुपर्छ । प्रश्नले मागेको उत्तर यकिन भएपछि प्रश्नको प्रकृति र अङ्कभार तथा समयलाई दृष्टिगत गरी मैलिकता झल्किने गरी बँुदागत रूपमा सफा र शुद्धसँग उत्तर लेख्नुपर्छ । सबै प्रश्नका उत्तर लेखिसकेपछि बचेको अन्तिम समयमा लेखेका उत्तरलाई पुनः सरसर्ती पढेर छुटपुट भए सच्याउनुपर्छ ।
परीक्षालाई अधिकतम उपलब्धिमूलक बनाउन अभिभावकको उत्तिकै महत्व रहन्छ । छोराछोरीलाई अनावश्यक दबाब नदिने, उनीहरूको आहारबिहारलाई स्वस्थकर बनाउने, पढ्ने लेख्ने सामग्री तथा बस्ने स्थानको उपयुक्त वातारण बनाई सहजता प्रदान गर्ने एवम् उत्साह र ढाढस दिएर मर्या्दित रूपमा परीक्षा दिन प्रोत्साहित गर्नु एक असल अभिभावकको जिम्मेवारीभित्र पर्छ ।
त्यस्तै विद्यालयले विद्यार्थीको रुचि क्षमताअनुसारको विषयको छनोट तथा परीक्षालाई सहज रूपमा सामना गर्न सक्ने योग्यताको विकास गराउनुपर्छ । विद्यार्थीको वैयक्तिक भिन्नता र उसको प्रगतिको गति र क्षमताको आधारमा पठनपाठन र अभ्यासको अवसर प्रदान गर्ने चाँजोपाँजो मिलाउनाले समग्रमा विद्यालयको उपलब्धि उच्च हुनेगर्छ । किनकि परीक्षाको नतिजाको आधारमा विद्यालयको स्तर सरकार र समुदायमा कायम हुने भएकोले विद्यालयले आफनो हैसियत उच्च राख्ने सुनौलो अवसर पनि हो ।
विद्यार्थीले विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरणमा पढ्न पाए नपाएको यकिन गर्ने परीक्षा पनि हो एसएलसी । प्रश्नपत्र निर्माणमा वैज्ञानिकता, वस्तुनिष्ठता तथा गुणस्तरीयताले परीक्षाको नतिजालाई असर पार्छ । व्यवस्थित, मर्या्दित, निष्पक्ष, स्वच्छ र सौहाद्र वातावरणमा परीक्षा सञ्चालन गर्न परीक्षा केन्द्र निर्धारण, भौतिक तथा मानवीय व्यवस्थापन एवम् उनीहरूले परीक्षार्थीलाई गर्ने व्यवहारबाट परीक्षाको गुणस्तरीयताको निक्र्यौल गर्छ । यसप्रकार एसएलसी परीक्षा प्रत्यक्ष रूपमा विद्यार्थीका लागि मात्र भए जस्तो लागे पनि परोक्ष रूपमा राज्यले विद्यालय शिक्षासम्बन्धी अख्तियार गरेको, योजना नीति–नियम कार्यक्रम जाँच्ने कसी हो ।
त्यस्तै विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावकले विद्यार्थीको पठनपाठनमा कतिको योगदान पु¥याए भन्ने कुराको यकिन गर्ने एक सशक्त सूचक विद्यार्थीले प्राप्त गरेको प्राप्ताङ्क र उत्तीर्ण प्रतिशत नै हो । तसर्थ एसएलसी विद्यार्थीका लागि मात्र परीक्षा नभएर सम्बन्धित निकाय, विद्यालय, शिक्षक, अभिभावकलगायतको पनि परीक्षा हो । एसएलसी असफलताको प्रत्यक्ष क्षतिको भागेदार विद्यार्थी भए पनि परोक्ष रूपमा परिवार, समुदाय तथा अन्ततोगत्वा समग्र राष्ट्रलाई नै दूरगामी असर पर्छ । (साभार गोरखापत्र)
माध्यमिक शिक्षा परीक्षाको गरिमा
