बुटवल, । नेकपा एमाले रुपन्देहीले मेची–महाकाली अभियानका क्रममा विभिन्न ठाउँबाट खट्ने विभिन्न तहका नेता कार्यकर्ताहरुलाई धन्यवाद ज्ञापन गरेको छ । अभियानका क्रममा रुपन्देहीमा भएको सभा, सांस्कृतिक कार्यक्रम, अभियानको टोलीको आवास तथा भोजनसमेतको व्यवस्थापनका काममा सफलतापूर्वक खट्ने सबैप्रति आभार प्रकट गरेको छ ।
शान्ति, समृद्धि र संविधान कार्यान्वयनका लागि जारी मेची–महाकाली अभियान अन्तर्गत फागुन २९ गते भैरहवामा विशाल सभा भएको थियो । एमालेको उक्त सभाका लागि विभिन्न क्षेत्रबाट जुटेका कार्यकर्ताहरुका सवारी साधनको सुरक्षा, ट्राफिक व्यवस्थापन देखि सभास्थलको सुरक्षासम्मका काममा खट्ने सुरक्षा निकायका सबै तहका अधिकारीहरु, जवानहरु एवम् स्वयमसेवक सबैलाई धन्यवाद ज्ञापन गरेको हो ।
एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले विज्ञप्ति जारी गर्दै केन्द्रीय नेतृत्व, स्वयम्सेवक, सुरक्षा निकाय, पत्रकारहरु, आम जनसाधारण, मित्र पार्टीका नेता कार्यकर्ताहरु सबैसबैप्रति धन्यवाद ज्ञापन गरेका छन् । एमालेले अयिभानका क्रमम रुपन्देहीमा विभिन्न ९ वटा समितिहरु गठन गरेको थियो । तिनै समितिहरुमार्फत अभियानका सबै कामहरु सम्पन्न गरिएको प्रचार–प्रसार समितिका संयोजक तेजेन्द्र केसीले जानकारी दिए । उनले खासगरी मिडियाबाट प्राप्त सहयोगको पार्टीले उच्च प्रशंसा गरेको पनि बताए ।
उक्त अभियानका क्रममा रुपन्देहीमा मात्रै तीन हजार जना एमालेमा प्रवेश गरेका छन । विभिन्न पार्टी परित्याग गरेर केन्द्रीय स्तरका नेताहरुसहितको ठूलो पंक्ति एमालेमा प्रवेश गरेको उनले बताए । भैरहवा, सूर्यपुरा, धकधई, देवदह, सैनामैना, गजेडी, सालझण्डीलगायतका विभिन्न क्षेत्रका सयौं नेता–कार्यकर्ता र सर्वसाधारणहरु एमालेमा आवद्ध हुन आएको एमाले जिल्ला अध्यक्ष सुवेदीले बताए । उनीहरुलाई उचित जिम्मेवारी र उचित व्यवस्थापन गर्दै अगाडि बढ्ने उनले बताए ।
नवप्रवेशी नेता कार्यकर्ताहरुमध्ये कतिपय पहिले एमालेबाट पार्टी छाडेर अन्यत्र लागेकाहरुसमेत थिए । उनीहरुले आफुहरु आफ्नै घरमा फर्किन पाएकोमा खुशी र आनन्दित देखिएको एमालेका नेता तुलसीप्रसाद चौधरीले बताए । उनले नेपाल र नेपालीको सदैब हित चाहने पार्टी नै एमाले रहेकाले यसका विरुद्ध छरिएको भ्रम विस्तारै चिरिएको बताए । उनले समृद्ध नेपाल निर्माणको परिकल्पनासाथ एमाले अगाडि बढेको बताए ।
एमालेको अभियानबाट राष्ट्रिय हित, एकता र सद्भाव चाहनेहरुमा खुशीयाली छाएको र देशद्रोहीहरु थर्कमान हुन थालेको एमाले नेताहरुको ठहर छ । अभियानमा देखिएको जनलहर र उत्साहले धेरै किसिमका तत्वहरु तिल्मिलाएको र त्यहीं मध्येको एउटा तत्व हिंसाको सहारामा निषेधको अवस्थामा उत्रिएको एमाले नेता तथा सांसद आदित्यनारायण कसौधनले बताए । उनले सामाजिक सद्भाव एकता र राष्ट्रिय हितका लागि सबै नेपाली जनताहरु एकजुट हुन जरुरी रहेको बताए ।
देश बचाउन र देश बनाउन आफुहरु दृढ संकल्पित भएर लागेको उल्लेख गर्दै नेता कसौधनले एमालेका विरुद्ध छरिएका सबै प्रकारका भ्रमहरु समाप्त भएको पनि बताए । सभामा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल तथा उप–महासचिवहरु विष्णुप्रसाद पौडेल, घनश्याम भुसाललगायत पदाधिकारी, स्थायी समिति र केन्द्रीय कमिटीका नेताहरु उपस्थित थिए ।
उक्त सभाका अध्यक्ष समेत रहेका एमाले नेता तथा सांसद कसौधनले एमाले मधेसी, पहाडी र हिमालीको पार्टी भएको जनाए । जहाँ बुद्ध जन्मे त्यहीं आफ्नो कर्मथलो रहेको बताउँदै नेता कसौधनले भने–‘यो ठाउँमा एमालेको शीर्ष नेतृत्व आएर सामाजिक सद्भाव र शान्तिको लागि यति ठूलो सभा सम्पन्न गरेको र यो आफैमा गौरवको कुरा हो ।’
अभियानमा खट्नेहरुलाई एमाले रुपन्देहीको धन्यवाद ज्ञापन
