मनोज गिरी
बुटवल । युवा शक्ति राष्ट्रको आशा र भरोसाको केन्द्र हो । युवा शक्तिविना विश्वका कुनै पनि राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण र क्रान्ति सफल भएका छैनन् । त्यसैले युवा शक्ति समाज परिवतर्नका संवाहक शक्ति हुन् । युवामा निहित साहस, सिर्जनशीलता र उच्च आत्मविश्वासका कारण यो शक्तिलाई राष्ट्र निर्माणको प्रमुख स्रोतसमेत मानिन्छ ।
तर, यहीं शक्ति र स्रोतलाई सही ढंगले व्यवस्थापन गर्न सकिएन, सदुपयोग गर्न सकिएन भने त्यसको सही प्रतिफल प्राप्त हुन सक्तैन् । एउटा दह्रो उदाहरण युवाहरुको विदेश पलायन हो । अहिले पनि कामका लागि युवाहरु विदेश पलायन हुनुपर्ने बाध्यता छ । ऋण धन खोजेर कामका लागि विदेशिनुपर्ने र त्यो पनि जोखिमपूर्ण कामका लागि विदेशिनुपर्ने विडम्बनापूर्ण अवस्थालाई अन्त्य नगर्दासम्म समृद्ध मुलुक बन्न सक्तैन ।
नेपालका अधिकांश युवाहरु आज आफ्नो जीवनको ऊर्जाशील समय विदेशी भूमिमा बिताउन बाध्य छन् । नेपालभित्र रहेका युवाहरुमा केही पढेलेखेका र सचेत युवा एनजीओ आईएनजीओ तथा विभिन्न निजी एवम् सार्वजनिक निकायको सेवामा संलग्न छन् भने अधिकांश युवा गुजारामुखी कृषि पेसामा संलग्न भएका छन् । उद्यमशीलताको क्षेत्रमा नगन्य युवाहरु मात्र लागेको पाइन्छ ।
यद्यपि पछिल्ला केही दिनमा आशाका केही किरणहरु भने देखिएका छन । कामका लागि विदेशै जानुपर्ने बाध्यता विस्तारै कम हुँदै गएको छ । युवाहरु केही न केही काममा तल्लिन हुन थालेका छन । साना तिना उद्यम सुरु गरेर ठूला उद्यमी बनेका थुप्रै युवाहरु विभिन्न ठाउँमा भेटिने गर्छन् । अनेकौं समस्या र अनेकौं अभावका बीचमा यसरी उद्यम सुरु गरेका युवाहरु आ–आफ्ना गाउँमा उदाहरणीय बनेका छन् ।
केही दिन अंघि राष्ट्रिय युवा परिषद्ले युवा उद्यमीका सम्भावना, समस्या तथा समस्या समाधानका उपायहरुका बारेमा अनुभव आदान प्रदान गराउने अवसर सिर्जना ग¥यो । युवा उद्यमीका समस्या र समाधान, खोज अनुसन्धान तथा अनुभव आदान प्रदान कार्यक्रम अन्तगर्त ती जिल्लाको पाँच दिने भ्रमण गरिएको थियो ।
परिषद्का केन्द्रीय शाखा अधिकृत लक्ष्मण गिरीको नेतृत्वमा, नायब सुब्बा पदम भट्टराई, पाँच नम्बर प्रदेशका विभिन्न जिल्लाका २८ जनाको टोलीले यहीं फागुन अन्तिम साता सुदुरपश्चिमका तीन जिल्लाका युवा उद्यमीहरुसित भेटघाटको कार्यक्रम गरेको हो । रुपन्देहीबाट अध्यक्ष बसन्त ढकालको नेतृत्व, पाल्पाबाट रामजी पोखरेलको नेतृत्व, कपिलवस्तुबाट टुकलाल गैरेको नेतृत्व र दाङबाट शुरेस राउतको नेतृत्वमा उक्त टोलीले अवलोकन भ्रमण गरेको थियो । सोही समूहमा रुपन्देहीबाट पंक्तिकार परेको थियो ।
सोही क्रममा सुदुरपश्चिमका केही जिल्लाहरुका युवा उद्यमीहरुसित अनुभव साट्ने मौका मिल्यो । कैलाली, कञ्चनपुर र डडेलधुराका केही यस्ता युवा उद्यमीहरु भेटिए जो गाउँमै मात्र नभइ जिल्लामै उदाहरणीय बनेका रहेछन ।
३ लाख रुपैयाँ सम्मको लगानीमा सुरु गरेको उद्यमबाट अहिले केही वर्षको अन्तरमै साढे ४ करोड रुपैयाँ सम्मको आम्दानी गर्ने कैलालीका युवा उद्यमी दिनेश लम्साल एउटा सफल उदाहरण हुन । उनी कामका लागि विदेश गएर फर्केका युवा रहेछन् । विदेशमा कठिनपूर्ण काम गर्नुभन्दा स्वदेशमै केही न केही गर्नुपर्ने उनको अठोट र आँटलाई अहिलेको सफलताले मख्ख बनाइदिएको छ ।
लामो समयसम्म कोरिया, अमेरिका र जापानको सपना लिएर बसेका युवा लम्साल अहिले सफल उद्यमी बनेका छन । उनले पेलेट दाना उत्पादन गर्ने उद्योग सञ्चालन गरेका छन् र १५ जनालाई रोजगारी दिएका छन । युवा अवस्था आँट, क्षमता र उच्च मनोबलले भरिएको जीवनको उर्जाशील अवस्था मानिन्छ । आफ्नो समग्र जीवनलाई कतातर्फ लैजाने र कस्तो जीवन जिउने भन्ने विषयमा महत्वपूर्ण निर्णय र फैसला गर्ने अवस्था नै युवा अवस्थालाई लिइन्छ । यी सफल उद्यमी युवाहरु यसैका उदाहरण बनेका छन ।
कैलालीका युवा उद्यमी पुष्पराज पन्त अर्का सफल उद्यमी हुन । उनी इजायरलबाट सिकेको सिपलाई यहाँ सफल व्यवसायका रुपमा परिणत गरेका छन । थोपा सिंचाई प्रणाली अन्तर्गत टमाटर र भेंडे खुर्सानी उत्पादन गर्दै उनको फार्मको नाम ग्रीन हाउस हो ।
एक दशक सम्म पुष्प व्यवसाय गरेका उनले त्यसबाट सन्तुष्ट हुन नसकेपछि यो प्रविधिबाट टमाटर खेती सुरु गरेका रहेछन । पाँच विगाहामा यो खेती गरेका उनी आफैले पाँच जनालाई रोजगारी दिएका छन । युवाहरुलाई राज्यले विशेष सिप र प्रविधिका बारेमा तालिम दिनुपर्ने र लगानीमा पनि साझेदारी गर्नुपर्ने उनको भनाइ छ । उनले सरकारले कृषिका बारेमा छुट्टै नीति बनाएर कार्यान्वयन गर्न जरुरी रहेको बताउँछन ।
आधुनिक कृषि फार्म, ग्रीन हाउस, विना रसायन फलफुल पकाउने तरिका, कीबी खेती, केराका खेर जाने थामबाट कागज बनाउनेलगायतका उद्यम सुदुरका यी जिल्लाका सफल व्यवसाय बनेका रहेछन । उनीहरुले मेहनत गर्न सक्ने हो भने करेसाबारीमै पनि प्रशस्त आम्दानी बनाउन सकिने बताए ।
तराईका तुलनामा डडेलधुरा उच्च पहाडी क्षेत्र हो । यहाँ उच्च पहाडी क्षेत्रमा उत्पादन गर्न सकिने फलफुल र तरकारीलाई व्यवसायीक रुप दिनका लागि केही युवाहरु सक्रिय बनेका रहेछन । आलु पकेट क्षेत्र नै निर्धारण गरेर युवाहरुले आलुको व्यवसायिक उत्पादन गरेका छन । लालीगुराँसको फुलबाट जुस उत्पादन गर्ने देखि भटमासको कारोबार गर्ने युवाहरु सफल उद्यमी बनेका रहेछन । यहाँका यी उत्पादन स्वदेशमा भन्दा विदेशमा माग धेरै रहेछ ।
गैरसरकारी संस्थामा काम गर्ने दुई युवाहरु केशव महता र हिरा भण्डरीले गाउँमै च्याउ खेती सुरु गरेका छन् । तीन लाखको लगानीमा उत्पादन सुरु गरेका उनीहरुको पूरै लगानी दुई वर्षमै पूरा भएको छ । उनीहरुले थप पाँच जनालाई रोजगारी दिएका छन । यस्तै डडेलधुराको अमरगढीमा १० लाख बराबरको लगानीमा किबी खेती सुरु गरेका युवा अर्का सफल उद्यमी हुन । उनले बोटहरुबाट बल्ल उत्पादन दिन सुरु गरेको बताउँछन ।
कृषिजन्य उपकरणहरुको सिमितता, उपकरणहरुको अवस्था, विऊ विजनको अवस्था तथा मलखाद देखि सिंचाईसम्मका समस्याहरु आम किसानका साझा समस्या हुन् । कृषिलाई मूख्य पेशा बनाएका धेरै किसानहरुमा यहीं साझा समस्या छ । कृषिलाई व्यवसायिक बनाएका युवाहरुका पनि यस्तै समस्या हुन । सुदुरका तीन जिल्लाका यी युवाका पनि यस्तै समस्या रहेछन ।
युवा श्रमशक्तिको झण्डै आधा भाग अझै गुजारामुखी कृषिमा आश्रित रहेको कुरा यहाँबाट पनि प्रष्ट हुन्छ । जिल्लाका केही युवाहरु यस्तो उद्यममा लागेका भएपनि अधिकांश युवाहरु विदेशमै जान बाध्य छन । त्यसरी जानेहरु पनि कुनै सिप सिकेर गएका होइनन् । वैदेशिक रोजगारीमा जाने वार्षिक पाँच लाख ३८ हजार युवामध्ये ७४ प्रतिशत अदक्ष रहेको हालैको एक गैससले तथ्यांक सार्वजनिक गरेको थियो ।
यो हेर्दा पनि के प्रष्ट हुन्छ भने युवाहरु केही न केही गर्न त चाहेका छन तर त्यसका लागि सिप के सिक्ने ? कस्ले सिकाउने भन्ने जटिल समस्या छ । कामका लागि विदेश जाने मध्ये अधिकांश युवाहरु सिप नै नसिकेर जाने गर्छन् । जसका कारण उनीहरु त्यहाँ जोखिमपूर्ण काम गर्न बाध्य पर्छन । तिनै युवाहरुले कमाएर विदेशबाट पठाएको पैशा (विप्रेषण) बाटै हाम्रो मुलुकको अर्थतन्त्र धानिएको छ । त्यति धेरै रकम परिवारले पनि फजुल खर्चमा सक्ने गरेको पाइन्छ । त्यो रकमलाई कुनै न कुनै उद्यममा लगाउन सकियो भने त्यसबाट उत्पादनका धेरै क्षेत्रहरु अगाडि बढ्न सक्छन । भित्रिएको अधिकांश पुँजी विलासितामा खर्च हुनु अर्को विडम्बनाको कुरा हो । अर्को दुखदायी पक्ष खेतीयोग्य जमिन घर, घडेरीका रुपमा टुक्रा टुक्रा हुनु रहेको छ ।
नेपालका अधिकांश युवामा आज विभिन्न कारणले जोखिम बहन गर्नेे क्षमतामा क्रमश ह्रास आउँदै गएको पाइन्छ, जसका कारण नेपाली युवाहरुमा उद्यमशीलतातर्फ भन्दा पनि अरुको नोकरीतर्फ आकर्षित हुने मनोविज्ञान बढ्दै गएको पाइन्छ । पढेलेखेका सचेत युवाहरु पनि नेपाली नागरिकता परित्याग गरी विदेशी ग्रिनकार्ड र पीआर प्राप्त गर्न अहिले पनि लालायित देखिन्छन् । यो नै हाम्रो ठूलो विडम्बनाको पाटो हो । यसतर्फ राज्यका सम्बन्धित निकायले बेलैमा शोंच बनाउन जरुरी छ ।
नेपाल विश्व युवा विकास सूचकांकमा १ सय ४५ औं स्थानमा रहेको छ । दक्षिण एसियाका मुलुकसँग तुलना गर्दा पनि नेपालको युवा विकास सूचकांक सबैभन्दा कमजोर देखिन्छ । सरकारी तथ्याङ्कमा नेपालमा पूर्ण बेरोजगार युवाको दर २.३ प्रतिशत मात्र देखाइए पनि अर्धबेरोजगार युवाको दर करिब ३६ प्रतिशत छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) का अनुसार पूर्ण बेरोजगारी दर १९.२ प्रतिशत र अर्ध बेरोजगारी दर २८.३ प्रतिशत छ ।
युवा अवस्थालाई विभिन्न मुलुकले फरक फरक तरिकाले परिभाषित गरेको पाइन्छ । अधिकांश देशमा युवाको उमेर १५–३५ वर्षका बीचमा कायम गरिएको छ भने संयुक्त राष्ट्रसंघ र विश्व बैङ्क जस्ता अन्तर्राष्ट्रिय संस्थाले १५ देखि २४ वर्षको उमेर समूहलाई युवा मानेको पाइन्छ । नेपालको सन्दर्भमा राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्षलाई युवा उमेर समूह निर्धारण गरेको छ ।
नेपालको जनसंङख्याको १६ देखि ४० वर्ष उमेर समूहलाई हेर्दा यो कुल जनसङख्याको ४०.३५ प्रतिशत हुन आउँछ । यती धेरै संख्यामा रहेको युवा शक्तिलाई दिशाहीन, उद्यमहीन र कामविहीन बनाउने हो भने समृद्ध मुलुक बन्न सक्तैन । युवाहरुलाई सक्षम बनाउँदै कुनै न कुनै सिप सिकाएर काममा लगाउन जरुरी भएको छ । यसो हुन सक्यो भने मात्रै समृद्ध मुलुक बनाउने कुरा साकार बन्न सक्छ । युवाका क्षेत्रमा काम गर्ने जिम्मेवार निकायले यसतर्फ बेलैमा ध्यान दिन जरुरी छ ।
सफल उद्यममा सुदुरका युवा शक्ति
