भैरहवामा बन्न लागेको अन्तर्राष्ट्रिय क्षेत्रीय स्तरको विमानस्थलको निर्माण कार्य संकटमा परेका समाचारहरु आएका छन । खासगरी निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी र त्यसको सहयोगीका रुपमा रहेको नेपालको अर्को कम्पनीका बीचमा विवाद उत्पन्न भएपछि विमानस्थलको निर्माण कार्य साता दिनदेखि रोकिएको छ । यो विडम्बनाको कुरा हो । यसलाई तुरुन्त सच्याइनुपर्दछ । भैरहवामा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माणका काम सुरु भएपछि यसक्षेत्रका बासिन्दाहरु औधी खुशी भएका छन । यो आयोजना सम्पन्न भएपछि यस क्षेत्रको समग्र विकासमा महत्वपूर्ण टेवा पुग्ने निश्चित छ । यसैले पनि यो राष्ट्रिय गौरवको आयोजनालाई नागरिक समुदायले समेत सफल पार्न सहयोग गर्नुपर्छ ।
राष्ट्रिय गौरवको यस्तो आयोजनालाई सहज र तीव्र रुपमा अगाडि बढाउनुपर्नेमा यो अवस्था आउनु पक्कैपनि सुहाउने कुरा होइन । जुन पक्षबाट कमी कमजोरी भएको छ, त्यसले स्वीकार गरेर अबका दिनमा कामलाई तीव्रता दिन जरुरी छ । दोस्रो सहयोगी कन्ट्रयाक्टरका रुपमा काम गरिरहेको पक्षले स्थानीय समुदायको समेत सहयोग लिने, कामको वातावरण बनाइदिने, कुनै पनि प्रकारको असहयोग उब्जिएमा त्यसलाई समाधान गर्ने हो । त्यसतर्फको जिम्मेवारी सही ढंगले वहन गर्नुपर्छ । तर, यी दुईका बीचमा विवाद उत्पन्न हुनु राम्रो संकेत होइन । किन विवाद उत्पन्न हुन गयो खास कारण के हो त्यो विस्तारै खुल्दै जाला । अहिलेलाई यो समस्याको तत्काल समाधान गरेर विमानस्थलको निर्माणको काम सुचारु गराउनु नै सरोकारवालाको दायित्व हो । यसतर्फ राज्यका निकायले हस्तक्षेपको भूमिका देखाउनुपर्ने हो भने पनि देखाउनुपर्छ । यस्ता गौरवका आयोजनामा कुनै पनि पक्षबाट हुने कमजोरी र गलत क्रियाकलापमा संलग्नलाई संरक्षण गर्नु हुँदैन् । आवश्यक परेमा कानुनी रुपमै जवाफदेही बनाउनुपर्छ ।
काम गरेका मजदुर, कर्मचारीले सम्झौता अनुसारको रकम पाउनुपर्छ, दिन्छु भन्दै काममा लगाउने कम्पनीले पनि तोके बमोजिमको रकम उपलव्ध गराउनुपर्छ । यस्तो विषयमा विवाद सिर्जना गर्नु सुहाउने कुरा होइन । काम गर्नेले काम अनुसारको पारिश्रमिक पाउने कुरालाई कुनै पनि इशुमा लगेर जोड्नु हुँदैन् । यो सर्वमान्य सिद्धान्तमै पर्दछ । काम गराउनेले पनि सम्झौता बमोजिमको रकम उपलव्ध गराउनुपर्दछ यसका लागि कुनै वहानाबाजी निकाल्नु पर्दैन् । कुनै नाजायज प्रलोभन, दबाब वा धम्की आएको छ भने पनि त्यो सम्बन्धित निकायमा निवदेन गर्नुपर्छ । सार्वजनिक गरेर कमी कमजोरी गर्नेलाई सार्वजनिक रुपमा पनि जवाफदेही बनाउनुपर्छ । त्यसो केही भएको छैन र कम गरे वापतको रकम लेनदनकै विषय हो भने यसलाई जतिसक्दो चाँडो समाधान गरेर काम अगाडि बढाउनुपर्छ । यसतर्फ जिम्मेवार कम्पनीको ध्यान जान सकोस् ।
हामीकहाँ विकास निर्माणका कामहरु त्यसैपनि पछि परेको अवस्था छ । कैयौं दशकसम्म राजनीतिक अधिकार प्राप्तिको लडाइँ लड्दै आइएको छ । अधिकार प्राप्तिका लागि मात्रै कैयौं क्रान्तिहरु, आन्दोलनहरु हुँदै आए । राजनीतिलाई मात्रै प्राथमिकतामा राख्नाले विकास निर्माणका कामहरु प्रायः ओझेल परे । विकास निर्माणका लागि छुट्टाइनुपर्ने बजेट अन्त कतै खर्च हुँदै आयो । बाटाहरु चौडा, फराकिला, सफासुग्घर बनाउनेतिर ध्यान गएन, शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, उद्योग–धन्दा तथा कलकारखाना जस्ता क्षेत्रहरुको यथोचित विकास हुन सकेन । जसका कारण हामी आर्थिक रुपमा अरु मुलुक भन्दा पछाडि परेका छौं । अर्को विडम्बनाको पाटो के छ भने हामीकहाँ प्रचूर सम्भावनाहरु रहेर पनि हामीहरु पछाडि परेका छौं । अब यस्तो नियति कसैले पनि भोग्नु नपरोस् ।