पिउन योग्य पानी र बहुपक्षीय विशेषता

मेचीकाली संवाददाता

९ भाद्र २०७९, बिहीबार
874 shares

टेकराज पन्थी
पञ्च तत्वमध्येको एक पानी सबै जीव र वनस्पतिका लागि आवश्यक मानिन्छ । पानी भएकै स्थानमा जीवन सम्भव हुन्छ । पानी नभएको स्थानमा जीवन सम्भव छैन । यसैले पानी नै जीवन हो भन्ने गरिन्छ । जीव र वनस्पतिका लागि जन्ममात्र पर्याप्त हुँदैन बाँच्नका लागि स्वच्छ पानी आवश्यक पर्छ । पिउने पानी स्वच्छ र सुरक्षित भयो भने ८० प्रतिशत रोग नै लाग्दैनन् भनिन्छ । पृथ्वीको दुईतिहाइ भाग पानीले ढाकेको छ । तर सबै पानी पिउन योग्य छैन ।

समुद्र र महासागरको पानी नुनिलो छ । जसले पृथ्वीको ९७.५ प्रतिशत भाग ओगटेको छ । २.५ प्रतिशत पानीमात्र ताजा, स्वच्छ र पिउनका लागि योग्य छ । यसमध्येको ठूलो अंश अर्थात् १.७२ प्रतिशत पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवमा हिउँको रूपमा रहेको छ । ०.७४ प्रतिशत भूमिगत स्रोतका रूपमा जमिनमुनि रहेको छ । जमिनको सतहमा रहेको ०.०४ प्रतिशत पानीमात्र मानवका लागि पिउन योग्य छ । नेपाल विश्वमै जलस्रोतमा दोस्रो ठूलो देश भनिए पनि धेरै सहर, बजार र गाउँमा खानेपानीको समस्या छ । पाइप प्रणालीबाट ८८ प्रतिशत पानी पुगेको सरकारी दाबी छ । संविधानको मौलिक हकका रूपमा स्वच्छ खानेपानीको हक लेखिए पनि कार्यान्वयन हुन नसकेको गुनासो छ ।

पानी एक प्राकृतिक योगिक हो, पानी कार्बन र हाईड्रोजन तत्व मिलेर बन्छ, यसको घुलनशील क्षमताको कारण यसमा धेरै तत्व घुलित अवस्थामा रहन्छन् । यो सामान्य तापक्रममा तरल रुपमा पाईने खनिज या आधारभुत जीवनदायिनी तत्व हो । पानी बिना जीवन असम्भव छ, यो नभए प्राणीको अस्तित्व रहन्न । पानी चिसो भएमा ठोस वा बरफ बन्छ भने तापक्रम बढदा वा हावामा घोलिएर ग्यासको अवस्थामा रहन्छ ।
पृथ्वीमा ठोस सतह भन्दा जल सतह ४ गुणा बढी छ । शुद्ध पानीको मुख्य श्रोत वर्षा हो, हिमाल, हिमताल, डिप ट्युबवेल, बस्ती भन्दा टाढाका मुल, खोला, नदी, तलाउ पनि ताजा पानीका भण्डार हुन् । समुद्र तथा महासागरको पानी पिउन योग्य हुदैन । हाम्रो शरीरमा ७० प्रतिशत पानी तथा बाँकी अवशेष कार्बन, क्याल्सियम, सोडियम अदि तत्व हुन्छ । जीवनको महत्त्वपूर्ण क्रिया रक्तसञ्चार पानीको कारण नै सम्भव छ । पाचन प्रक्रिया, ग्रन्थी प्रणाली, आदि पानी कै भरमा चल्छन । पानीले हाम्रो शरीरको रक्तसञ्चार तथा पुरै जैविक प्रक्रिया सन्तुलित राख्न मुख्य भूमिका खेल्छ । खानामा हुने तत्वहरु देखि लिएर श्वास प्रस्वाससंग लिइएको अक्सिजन शरीरको सबै भागमा पुर्याउने काम पानीले गर्छ र शरीरबाट अनावश्यक चिज उत्सर्जन गर्ने काम पनि पानीले नै गर्छ । हामीले हरेकदिन पानी कति पिउने, कस्तो पानी पिउने बिषयमा सचेत हुनु जरुरी छ ।

पानी कति पिउने भन्ने बिषय शरिरको तौल, कार्यशैली, बातावरण, मौसम अनुसार व्यक्ति पिच्छे फरक हुन्छ । वयस्क मानिसले प्रतिदिन कम्तिमा ४ लिटर पानी पिउनुपर्छ । तर हामीले पिउने पानी निर्मलीकृत गरि शुद्ध हुनुपर्छ या त RO फिल्टर गरिएको हुनु जरुरी छ । पानीलाई शुद्धिकरण गर्न प्राचीन कालदेखि नै कुनै न कुनै विधि अपनाउन थालिएको पाईन्छ । बर्षातको पानी, हिमालको पानी, खोला तथा नदीको पानी शुद्ध मानिन्थ्यो र हाल पनि यसैलाई राम्रो मानिन्छ । यी श्रोतको अलावा डिपबोरिंग हाल बढी प्रयोगमा आएका छन् । पानी शुद्धिकरण गरी पिउनलायक बनाउन उमालेर, घामको किरणले सेकेर, औषधि हालेर, फिल्टर क्यान्डिलको मद्दतले छानेर तथा अरु बिधि अप्नाईन्छ । यी सबै बिधिबाट कुनै न कुनै कोणले पानी शुद्धिकरण गरिन्छ।

वर्तमान समयमा RO रिभर्स आस्मोसिस सिस्टमबाट सरल रुपमा स्वच्छ र भरपर्दो तरिकाले पानी शुद्धीकरण गरिएको पाईन्छ । यसमा पानीको धुलो, बालु कसिंगर थिगार्ने, कार्बन, सेडिमेन्ट छान्ने, युभि लाईट, मेम्ब्रेन आदि पांच चरणबाट पानी शुद्ध गरिन्छ । तर पूर्णतया ब्याक्टेरिया मार्न भने सक्दैन । ब्याक्टेरिया बाहेक पानी शुद्धिकरणका लागि भरपर्दो मानिन्छ । बजारमा १५ हजार देखि २५ हजार सम्मका घरेलु र लाख बढी पर्ने एक घण्टामा सय लिटरबढी पानी शुद्ध गर्ने संस्थागत कार्यालयका लागि आवश्यक पर्ने मेसिन पाईन्छन् । यी सबै स्टेजका सामानहरु स्तरीय पार्टस लागेका हुनाले यिनले माईक्रो लेवलबाट फिल्टर हुन्छ । यसमा प्रयोग हुने र फिटिङ्स पनि ध्यान दिएर जडान गरेमा RO System पनि ठिकै हुन्छ । पानी उमालेर खानु जत्तिको राम्रो अरु कुनै विधि मानिदैन । पिउन योग्य पानी उमाल्नु नै ठिक हुन्छ ।

पिउन योग्य पानी भन्नाले मानिसले उपभोग गर्न प्रयाप्त सुरक्षित वा तत्कालिन वा दीर्घकालीन खतरा कम भएको पानी हो । प्राय विकसित राष्ट्रहरूमा घर, व्यापारिक क्षेत्र तथा कलकारखानाहरूमा आपुर्ति हुने पानी पिउन तथा खाद्य प्रयोगमा कम उपभोग गरिने भएता पनि पिउने पानीको गुणस्तर बराबरको हुन्छ । त्यो पानी पिउन भन्दा शौचालय, नुहाईधुवाई तथा सिंचाईमा प्रयोग गरिन्छ । पानी पीउन योग्य छ छैन प्रायः धेरैले परीक्षण गर्दैनन् । पीउने पानीमा TDS हेर्ने गरिन्छ । Total Dissolved  Solids कति हुनु पर्दछ भनेर यकिन गर्नलाई फरक फरक धारणा पाईन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार TDS Level 300mg/litre भन्दा कम हुनु एकदमै राम्रो हुन्छ भनेको छ । १०० देखि २०० TDS हुनु उचित हुन्छ । तर ३०० देखि ६०० सम्म राम्रो, ६०० देखि ९०० सम्म ठिकै, ९०० देखि १२०० सम्म नराम्रो र १२०० मिलिग्राम प्रति लिटर भएमा एकदमै खराब स्वीकार गर्न सकिदैन । TDS Measured as a volume of water with the unit milligrames per liter हुनु पर्दछ । पानीमा क्याल्सियम, क्लोराइड, म्याग्नेसियम, पोटासियम, जिंक, अल्मुनियम, कपर, लिड, आर्सेनिक, आइरन, भिटामिन लगायत विभिन्न तत्व मिसिएको पाईन्छ । खाद्य नियमावली २०२७ अनुसार गुणस्तरयुक्त खाद्यान्न नभएमा कानुनी कारवाही हुने ब्यवस्था गरेको छ ।

बजारमा पाईने थुप्रै पानीका जार तथा बोतलहरुमा रहेको पानी शुद्ध छ छैन खासै जाँच गरेको पाईदैन । Drinking Water लाई हामीले Mineral Water भनेर पिउने गरिन्छ । कतिपय बिक्रेताले बोतलको पानीलाई मिनेरल वाटर भनेर बिक्री गरिरहेका छन् । ग्राहकले पनि मिनेरल वाटर खाएको बताउछन् । तर पानी पिउदा त्यसको TDS कति छ अथवा Date Expire भएको छ कि उपभोक्ताले ध्यान दिन नसकेको पाईन्छ । हरेक पानीको बोतलमा Pure Drinking Water, Mineral Water, Drinking Water उल्लेख गरेकै हुन्छ । त्यसैका भरमा पानी पिउने गरिन्छ । तर नियमनकारी निकायले प्रभावकारी अनुगमन गरेका छैनन् । खाद्य नियमावली २०२७ ले ब्यवस्था गरे अनुसार गुणस्तरयुक्त नभएमा वा पिउनयोग्य पानी नभएमा खाद्य नियमावली २०२७ को नियम ८(ग) अनुसार उत्पादन बन्द गराउने र उत्पादकलाई कानुनी कारवाही गर्ने ब्यवस्था पनि रहेको छ । जिल्ला प्रशासन कार्यालय, पालिका, खाद्य तथा गुणनियन्त्रण कार्यालय, नापतैल कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, नेपाल उद्योग बाणिज्य संघ, उद्योग संघ, बाणिज्य संघ, खुद्रा ब्यवसायी संघ थुप्रै संघ संस्थाले उपभोक्ताको हितलाई ध्यानमा राखेर अनुगमन र सहजीकरण गर्न सक्छन् ।

शरीरमा पानी कमी भएको लक्षणहरू
टाउको साह्रो गरी दुख्छः टाउको दुखिरहेको छ, तर के कारणले दुखेको हो भन्ने थाहा हुँदैन त्यसका कारण शरीरमा पानी कम भएर हो । त्यसरी टाउको गह्रौँ भएर दुखेमा तत्काल पानी पिउने र १० मिनेटको फरकमा थोरै केही खाने । त्यसले तत्काल दुखाइ कम हुन्छ ।
केही खानासाथ तत्काल भोक लाग्छ ः बढी तिर्ख लाग्दा मानिसको दिमागले भोक लागेको हो कि प्यास लागेको छुट्याउन सक्दैन । त्यसैले भर्खरै खाना खाएको छ भने पनि भोक लागेको जस्तो हुन्छ । यदि कहिले यस्तो भयो भने पानी पिउनुपर्छ । भोक लागेजस्तो हुने समस्या आफैँ हटेर जान्छ ।

धेरै थकान महसुस हुनेः जब तपाईं आफूलाई चाहिनेजति पानी पिउनुहुन्न, तब शरीरको पूरै प्रणाली नै कमजोर हुन्छ । जसले गर्दा शरीरमा भएको शक्ति नष्ट हुन थाल्छ । यसले तपाईंलाई थाकेको महसुस गराउँछ र उदासीन बनाउँछ । काममा ध्यान जाँदैनः दिमागको ७० प्रतिशतभन्दा बढी भाग पानीले बनेको हुन्छ । पानी कम हुँदा दिमाग मन्द हुन्छ । यसले आफ्नो सामान्य काम पनि गर्न मन लाग्दैन र ध्यान पनि जाँदैन ।
छाला सुक्खा हुन्छ ः चलिरहेको मौसम विपरीत प्रायः तपाईंको छाला सुक्खा रहन्छ, बारम्बार ओठ फुट्ने हुन्छ भने त्यसको कारण पानीको कमी हो । यदि तपाईं नरम र सुन्दर छाला चाहनुहन्छ भने आवश्यकता अनुसार प्रशस्त पानी पिउनुपर्छ ।

पिसाब पहेँलो हुनेः तपाईंले पिसाब फेर्दा दिनमा कम्तीमा दुईपटक पिसाब कस्तो छ भनेर हेर्नुभयो र दुवैपटक हल्का पहेँलो छ भने त्यो ठिकै हुन्छ। तर,धेरै पहेँलो छ भने तपाईंलाई पक्कै पनि पानीको कमी भएको हुन्छ ।
एसिडिटी बढ्छः तपाईंलाई एसिडिटी बढेको छ, दिसामा कब्जियत छ, खाना राम्ररी पचिरहेको छैन भने यसको कारण तपाईं प्रशस्त मात्रामा पानी पिउनुहुँदैन । ठीक मात्रामा पानी पिउनाले पाचन प्रक्रिया तन्दुरुस्त हुन्छ र कब्जियत हुन दिँदैन । यसले पेटमा भएको एसिडलाई पनि कमी गराउँछ ।

धढ्कन बढाउँछः यदि तपाईंको मुटुको धड्कन अचानक बढ्यो भने पानीको कमी भएको एउटा संकेत हो ।
चक्कर लाग्ने वा अचानक डराउनेः अचानक चक्कर आउने केरै कारण हुन सक्छ, कहिलेकाहीँ दबाइको कारण, निन्द्रा नआउनेलगायतका कारण पनि हुन सक्छ । पानीको कमी यसको प्रमुख कारण हुन सक्छ ।
श्वास गनाउनेः यदि तपाईंको शरीरमा पानीको कमी भइरहेको छ, शरीरले सही मात्रामा थुक बनाउन पाइरहेको छैन भने मुखबाट नमिठो दुर्गन्ध आउँछ । प्रशस्त थुक नआउँदा मुखमा हानिकारक ब्याक्टेरिया बन्न गई गनाउने श्वास निस्कन्छ ।

मुख सुक्खा रहन्छः प्रायः मुख सुक्खा हुन्छ भने त्यो पानीको कमी भएको संकेत हो । यस्तो समस्या हुनेले छेउमा सधैँ पानी राख्नुपर्छ र आवश्यकता पर्नेबित्तिकै पिउनुपर्छ । कहिलेकाहीँ कतिपय दबाइ खाँदा पनि मुख सुक्खा हुन्छ । यी दुई कुरामा भने झुक्किन हुँदैन ।
मांसपेशी या जोर्नीमा दुखाइ हुन्छः पानीले मांसपेशीमा वा जोर्नीमा लुब्रिकेन्टको काम गर्ने गर्छ । यसले पानी कम भयो भने दुखाइ बढ्ने सम्भावना हुन्छ ।

शरीरमा पानीको कमी हुँदा देखिने असरहरु
स्वास गन्हाउने ःहाम्रो व्यस्त जीवनमा पानी पिउन हामीले भुलिरहेका हुन्छौँ । कामको दौरान तपाईँले बोल्दा जब तपाईँका सहकर्मीहरु परपर सर्छन अनि मात्रै तपाईँलाइ महसुस हुन्छ कि तपाईँले पानी पिउनु भएको छैन र तपाईँको सास गन्हाई रहेको हुन्छ ।
शारीरिक क्षमतामा कमी ःशरीरमा पानीको मात्रा कम हुँनासाथ तपाईँको शारीरिक क्षमतामा कमी आउँछ । शरीरमा पानीको मात्रा केवल २ प्रतिशत कम हुँदा मात्रै शरीरको क्षमता १० प्रतिशतले घट्छ ।

सुख्खा छाला ःछालालाई स्वस्थ, तन्दुरुस्त र चमकदार राख्नको लागि प्रसस्त पानी पिउनु एकदमै जरुरी हुन्छ । यतिमात्रै होइन छालाबाट पानी बाहिर जान नदिन छालामा मोइस्चराइजरको प्रयोग गर्नुपनि उत्तिकै जरुरी हुन्छ ।
ड्राइभिङ क्षमतामा असर ःफिजियोलोजी एण्ड विह्याभियर नामक जर्नल प्रकाशित गरिएको एक अनुसन्धान पत्रले शरीरमा पानीको मात्रा कम हुँदा ड्राइभिङमा पूर्ण रुपमा ध्यान दिन नसकी ड्राइभिङ क्षमतामा ह्रास आउने देखाएको छ ।
थकान ःशरीरमा पानीको मात्रा कम हुदा रक्तचाप घट्छ, मुटुको धड्कन बढ्छ र मस्तिष्कमा रगत प्रवाह घट्छ । यी सबैले शरीरलाई थकित बनाउँछ । त्यतिमात्र नभई पानीको मात्रा कम हुँदा शरीरका मसल्सहरु पनि थकित हुने गर्छ ।

खराब मुडः शरीरमा पानीको मात्रा कम हुनुको असर शरीरिक रुपबाट मात्र नभई मानसिक रुपमा पनि पर्छ । जर्नल अफ न्युट्रिसन मा प्रकाशित एक अध्ययनका अनुसार शरीरमा पानीको मात्रा कम हुँदा मानिस झोक्किने, रिसाउने, अल्छि हुँने, काममा केन्द्रीत हुन नसक्ने र दुखी रहने गरेको पाइयो ।

शरीर चिसो बनाउछ ःरगतमा हुने पानीले शरीरमा तातोपना कायम राखिराख्न र तापक्रम मिलाएर राख्न मद्धत गर्छ ।पानीको मात्रा कम हुँदा तातोपानी बाहिर जाने हुँदा शरीर चिसो हुन्छ ।
आँखा धमिलो हुने र तिर्मिराउने ःपानीको मात्रा कम हुँदा मासंपेशीमा मात्र नभई मस्तिस्कमा पनि रक्तसञ्चार कम हुन्छ । जसले गर्दा आँखाको दृष्टि धमिलो हुने तथा तिर्मिरयाउने तथा काम गर्ने क्षमतामा ह्रास आउछ ।

टाउको दुखाईः चिकित्सकहरुका अनुसार पानीको मात्रा शरीरमा कम हुँदा सेरोटोनिनको मात्रा परिवर्तन हुन्छ । जसले टाउको दुख्ने गर्छ । त्यसैले अब जब जब टाउको दुख्छ एक दुई गिलास पानी पिउनुस सम्भवत टाउको दुखाई हराएर जान्छ ।
कब्जियत गराउछ ःआन्द्रामा पचेका खानाहरु पास हुन शरीरमा पानीको जरुरी हुन्छ । तपाईँले यदि कम पानी पिउनु भएको छ भने आन्द्रामा भएका बस्तुबाट पानी शरीरमा तानिन्छ र पचेको खानामा कडा हुन्छ । जसले गर्दा कब्जियत गराउछ ।

सस्त पानी पीउदा हुने फाइदाहरू
शारीरिक क्रियाकलापमा चाहेको अनुरुप सहभागी र बिना थकान सम्पन्न गर्न प्रशस्त पानी पिउनु जरुरी हुन्छ । मस्तिष्कलाई चुस्त, स्फूर्त राख्न र मानसिक कार्यलाई छिटो छरितो बनाउन पानी पिउने गर्नुस् । टाउको दुखाई कम गर्न र निको पार्न पानीको महत्वपूर्ण भमिका हुन्छ । यदि तपाईलाई कब्जियतको समस्याले सताइरहेको छ भने प्रशस्त पानी पिउने गर्नुस् समस्या निको हुन्छ । मिर्गौलामा हुने पत्थरी हटाउन तथा हुन नदिन प्रशस्त मात्रामा पानी पिउनु जरुरी हुन्छ । पानी प्रशस्त पिउनाले शरीरको मेटाबोलिज्म प्रक्रिया बढ्न जान्छ र यसले शरीरको तौल घटाउन मद्दत गर्छ ।

चिसोपानी पिउदाका बेफाइदाहरु
धेरै चिसो पानी पिउनाले रक्तनलीहरु खुम्चिन्छन् जसले शरीरको पाचन प्रक्रियामा असर पार्छ । यसले खानेकुरा राम्रोसंग पच्दैन र आवश्यक मात्रामा शरीरलाई पोषक तत्व प्राप्त हुन सक्दैन । फ्रिजमा राखेको चिसो पानी तथा बरफहरुको सेवन गर्नाले मुटुको धड्कनमा असर पार्छ यसले स्नायुतन्तुलाई उत्तेजित गराइदिन्छ र मुटुको गति कम हुने गर्छ । धेरै चिसो पानी पिउनाले शरीरमा अनावश्यक रुपमा उर्जा खर्च हुन्छ जसले खानेकुरामा भएका पोषक तत्व शरीरले सबै प्राप्त गर्न सक्दैन । धेरै चिसो पानी पिउनाले घाँटीमा असर गर्छ । यसले घाँटीका मांशपेशी तथा कोशिकाहरुमा असर पर्नुका साथै संक्रमणको खतरा हुन्छ ।

अन्त्यमा हामी सवैले गुणस्तरीय पानी मात्र पिउने गर्नु पर्दछ । पानीका बहुपक्षीय बिशेषता हुने भएकोले सवैले पानी पिउदा बिशेष ध्यान दिन जरूरी छ । नियमनकारी निकायबाट समय समयमा पानीको गुणस्तरको चेकजाँच र अनुगमन गरेर मानव लगायत प्राणीजगतको जीवन रक्षाका लागि ध्यान दिनु सवैको कर्तब्य हुनेछ । ब्यवसायीहरूबाट पनि पानीको प्रशोधन र बिक्री बितरणमा बिशेष ध्यान पुराएर ब्यवसाय सञ्चालन गर्नु पर्नेछ । पानीको महत्व र यसका असरहरू बुझेर सवै सकारात्मक रूपमा जनचेतना फैलाउन आवश्यक छ । यो सन्देश सवैपक्षबाट पालना भएमा स्वस्थ्य जीवनमा सकारात्मक प्रभाव पर्नेछ भन्ने विश्वास गर्न सकिन्छ । (लेखकः बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन्)