प्रकाश आचार्य
बुटवल, । नयाँ संविधानमा वैवाहिक अंगिकृत नागरिकता सम्बन्धी व्यवस्था लागू भएपछि रूपन्देही जिल्लाबाट करिब दुई हजारले वैवाहिक अंगिकृत नागरिकता लिएका छन् । १७ महिनाको अवधिमा (गत वर्ष असोज ३ गते नयाँ संविधान जारीपछि) हालसम्म जिल्लाबाट १ हजार ९ सय ६७ अंगिकृत नागरिकता वितरण गरिएको हो । विदेशमा जन्मिएका तर नेपालीसँग विवाह गरेका महिलालाई अंगिकृत नागरिकता दिने व्यवस्था नयाँ संविधानले गरेसँगै अंगिकृत नागरिकता लिनेको संख्या ह्वात्तै बढेको हो । जसमा रूपन्देहीबाट अंगिकृत नागरिकता लिने सबै भारतीय महिलाहरू रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय रूपन्देहीका नायव सुब्बा यज्ञराज पोखरेलले अन्य तराईका जिल्लाको तुलनामा रूपन्देहीबाट अंगिकृत नागरिकता लिने धेरै रहेको बताए । ‘प्रत्येक महिना १ सय १० जनाभन्दा बढीले नागरिकता लिएको हामीसँग तथ्याङ्क छ’ उनले भने, ‘कुनै महिनामा त १ सय ८० भन्दा बढी पनि हामीले बितरण गरेका छौं ।’ जिल्ला प्रशासन कार्यालयबाट आर्थिक वर्ष २०७२÷०७३ मा १ हजार दुई सय ३८ भारतीय चेलीले नागरिकता लिएका थिए । यो तथ्याङ्क फागुन अन्तिमसम्मको रहेको प्रशासन कार्यालयको भनाइ छ । प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले नेपालीसँग विवाह गरेर अंगिकृत नागरिकता लिनेको संख्या दिनप्रति दिन बढदै गएको बताए । गत वर्ष असोज ३ मा नयाँ संविधान जारी भएलगत्तै सरकारले तराई क्षेत्रमा वैवाहिक अंगिकृत नागरिकता दिने क्रम रोकेको भन्दै मधेस केन्द्रित दलहरुले भ्रम फैलाएका थिए । ‘वैवाहिक अंगिकृत नागरिकता दिने र लिने क्रम पहिलेको भन्दा बढेको छ’ प्रजिअ सिंहले भने ।
जिल्ला प्रशासन कार्यालय रूपन्देहीका अनुसार सबै कानुनी प्रक्रिया पुगेको अवस्थामा र कागजात भएको अवस्थामा एकै दिनमा वैवाहिक नागरिकता वितरण गर्ने गरिएको छ । श्रीमानको नागरिकता, विवाह दर्ताको प्रमाणपत्र र सम्बन्धित नगरपालिका वा गाविसको सिफारिस, कुन देशको नागरिकता त्याग गरेको हो त्यसको त्याग पत्रको फोटोकपी र त्याग पत्र आफ्नो देशको जिल्लामा पठाएको हुलाकको रसिद पेश गरेपछि तत्काल नागरिकता पाउने गरेका छन् ।
गत माघ महिनामा मात्रै १ सय ८० जनाले अंगिकृत नागरिकता लिएका छन् । तराईका विभिन्न २० जिल्ला भन्दा रूपन्देहीबाट बढी नागरिकता लिएको तथ्याङ्कमा उल्लेख रहेको पाइन्छ ।
इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख कृष्णप्रसाद भण्डारीले आफूहरूले अंगिकृत नागरिकता वितरण नगर्ने बताए । ‘हामीलाई पनि अधिकार प्रत्यायोजन गरेको छ’ भण्डारीले भने, ‘तर हामीले बितरण गर्दैनौं जिल्ला प्रशासनमा पठाउँछौं । जिल्ला प्रशासनबाटै वितरण गर्छ ।’ उनले यहाँ आउँने सेवाग्राहीलाई भैरहवा नैं जान आग्रह गरिने बताए ।
अंगिकृत नागरिकले राज्यमा कति अधिकार पाउने ? नयाँ संविधान संशोधन तयारी भइरहँदा यो विषय चर्को बहसमा छ । यही बेला अंगिकृत नागरिकता लिने क्रम रोकिनुकासट्टा तीव्र रुपले बढिरहेको भने धेरैलाई थाहा छैन । गृह मन्त्रालयका अनुसार तराईका २० जिल्लामा यस्तो नागरिकता लिनेको संख्या बढिरहेको छ । नयाँ संविधान जारी भएयता दैनिक सरदर २० जनाले वैवाहिक अंगिकृत नागरिकता लिइरहेको बताइएको छ । नयाँ संविधानले नेपालीसँग विवाह गरेका विदेशी नागरिक महिलाहरूलाई २४ घण्टाभित्रै नागरिकता दिने सहज व्यवस्था गरेको छ । अंगिकृत नागरिकता लिएका व्यक्तिहरूले राज्यको प्रमुख पद जस्तै राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री जस्ता पदमा जान पाउँदैनन् । पछिल्लो समयमा भारतबाट नेपालमा विवाह गरी नागरिकता प्राप्त गर्नेको लहर चलेको छ ।
नेपाली नागरिकता प्राप्त नगरेसम्म नेपाली नागरिक हुन नसक्ने भन्ने चेतनाको विकास मधेशी समुदायमा बढ्दै गएका कारण दिनप्रतिदिन नागरिकता बनाउनेको चाँप बढ्दै गएको नागरिकता फाँटका नासु पोखरेल बताउँछन् ।
(((((((((((((((((((((((
रूपन्देहीबाट दुई हजारले लिए अंगिकृत नागरिकता
