विष्णु पौडेलको ठूलो परियोजना उद्घाटन, सुन्दर र स्वच्छ सहरको विकासबाटै व्यवस्थित सहरीकरणः प्रधानमन्त्री

बुटवलबासीको एउटा सपना पूरा भयोः विष्णु पौडेल

मेचीकाली संवाददाता

११ भाद्र २०७९, शनिबार
350 shares

बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले सुन्दर र स्वच्छ सहरको विकासबाटै व्यवस्थित सहरीकरण सम्भव हुने बताएका छन् । उनले नेपालमा सहर योजनाबद्ध र व्यवस्थित बन्न नसक्दा विभिन्न खालका विपद्को सामना गर्नुपरेको उल्लेख गरे ।

प्रधानमन्त्री देउवाले बुटवल उपमहानगरपालिका–८ स्थित बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शनिबार उद्घाटन गर्दै नेपालका अधिकांश सहर योजनाबद्धरुपले बन्न नसकेकाले अव्यवस्थित र पुराना सहरलाई पुनःनिर्माण गरी व्यवस्थित सहरको रूपमा रुपान्तरण गर्न जरुरी रहेको बताए । बुटवलले व्यवस्थित सहरी विकासमा फड्को मार्न लागेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सम्मेलन केन्द्रले बुटवलको आर्थिक, सामाजिक र शैक्षिक विकासमा सघाउ पु¥याउने विश्वास व्यक्त गर्दै यो सञ्चालनका लागि सरकारले छिट्टै निश्चित विधि तयार गर्ने बताए ।

मुलुक संघीयतामा प्रवेश गरेसँगै संघीयय सरकारसँगै प्रदेश र स्थानीय तहमा विकासका पूर्वाधार बढेको र व्यवस्थित तरिकाले सहरी पूर्वाधार अघि बढाउन जरुरी रहेको प्रधानमन्त्री देउवाले उल्लेख गरे । उनले प्रदेश र स्थानीय तहले योजनाबद्व सहरी विकासमा जोड दिनुपर्ने बताए । ‘जनातालाई आफ्नै थातथलोमा आधुनिक सहरी विकासको सेवा पु¥याउन सके अनियन्त्रित बसाइसराइ रोकिन्छ,’उनले भने ।
कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले बुटवल नेपालको मध्यभागमा रहेको र संंसारको आस्थाको केन्द्र बुद्ध जन्मस्थल लुम्बिनी रहेकाले यस क्षेत्रको विकासले समग्र देशकै विकासको आधारशीला तयार गर्ने विश्वास व्यक्त गरे । उनले यहाँका नागरिक र जनप्रतिनिधिको साझा प्रतिबद्वता रुपन्देहीको विकासको प्रतिफलले देशकै आर्थिक विकासमा टेवा पु¥याउने बताए ।

गृहमन्त्री खाँणले भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर सञ्चालनमा आए पनि आर्थिक केन्द्रको रूपमा सञ्चालन गर्न गतिशील र चलायमान बनाउन नसकिएको बताए । उनले विमानस्थलका लागि अन्तर्राष्ट्रिय हवाईमार्गको सञ्जाल बढाउन प्रधानमन्त्री देउवाले भारतीय समकक्षीसमक्ष थप हवाई उड्डयन र एयररूटको अनुमतिका लागि अनुरोध गरेको सो अवसरमा जानकारी दिए । भारतीय तहबाट हवाईमार्गका लागि अनुमतिप्राप्त हुँदा गौतमबुद्ध विमानस्थल मात्र नभएर काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलागि समेत सहज हुने उनको भनाइ थियो ।
गृहमन्त्री खाँणले निर्माण सम्पन्न सम्मेलन केन्द्रबाट अब राज्यको लगानी प्रतिफलमा कसरी उठाउने, बहुआयामिक उपयोगिता कसरी गर्ने, आम नागरिकलाई यससँग जोडेर अर्थतन्त्र गतिशील कसरी बनाउने भन्ने विषयमा योजना बनाउन निजी क्षेत्रका आम उद्योगी व्यवसायीलाई अनुरोधसमेत गरे । यस क्षेत्रको विकासका लागि सरकारले दाउन्नेमा सुरूङमार्ग यसै वर्षदेखि सुरु गर्ने तथा सिद्धबाबामा सुरूङमार्ग अविलम्ब निर्माणको अवस्थामा पुगेको उनले जानकारी दिए ।

सरकारले अस्थायीरूपमा बसेका नागरिकलाई जमिनको स्वामित्व दिने विषयमा भूमि आयोगबाट छिट्टै पुर्जा दिने व्यवस्था मिलाउने र भूमिहीन, पिछडिएका, दलित नागरिकलाई बसोबासको व्यवस्था मिलाउन संघीय सरकारको तर्फबाट भूमि आयोगको माध्यमबाट बसोबासको व्यवस्था मिलाउने विषयमा सरकार लागिपरेको मन्त्री खाँणले बताए ।
कार्यक्रममा पूर्वउपप्रधानमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले रुपन्देहीका जनप्रतिनिधि र जनता विकासको गफ मात्र होइन, काम गरेर देखाउँछन् भन्ने जिल्लामा निर्माण भएका यस्ता आयोजनाबाट देखिएको बताए । रुपन्देही विकासका मुद्दामा अघि बढेको उल्लेख गर्दै उनले विकासका लागि नमूना जिल्ला बन्दै गएको बताए । उनले भने,‘रूपन्देही नयाँ–नयाँ मानक स्थापित गर्न सक्षम छ, हिजो सुरू गरिएका आयोजना आज उद्घाटन गर्ने अवस्थामा छाँै ।’ उनले सम्मेलन केन्द्रको सञ्चालन कार्यविधि तीनै तहका सरकारले मिलेर बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पूर्वसहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सम्मेलन केन्द्रको सञ्चालन कार्यविधि व्यवसायिकसँगै व्यापार र आम्दानी दिने गरी बनाउनुपर्ने सुझाव दिइन् । योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेलले यसरी बनेका र बन्दै गरेका सम्मेलन केन्द्रको सञ्चालन कार्यविधि पनि सरकारले बनाउन लागेको जानकारी दिए । उनले योजना आयोगले कार्यविधि बनाउँदा दिगोपन प्रत्याभूति हुने गरी बनाउन सहजीकरण गर्ने बताए । सम्मेलन केन्द्रको योजनाकार विष्णु पौडेल हुन ।

बुटवलबासीको एउटा सपना पूरा भयोः विष्णु पौडेल
पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटनसँगै बुटवलबासीको एउटा सपना पूरा भएको बताएका छन् ।
बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन समारोहमा बोल्दै उनले लामो समयको धैर्यतापछि सम्मेलन केन्द्रको उद्घाटन भएको जनाउँदै जिल्लाबासीका लागि यो खुशीको कुरा भएको बताए । ‘यो रुपन्देहीको गहना हो । यहाँ नियमित कार्यक्रम गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलनको माध्यमबाट यसको भरपूर सदुपयोग गर्नुपर्छ,’उनले भने ।

जिल्लाका अन्य महत्वपूर्ण योजनाहरु समेत सम्पन्न भइ उद्घाटनको चरणमा प्रवेश गरेको जनाउँदै उनले केही समयमै बुटवल प्रदर्शनी केन्द्रको समेत उद्घाटन हुने बताए । ‘यो सम्मेलन केन्द्रको उद्घाटन रुपन्देहीका जनप्रतिनिधी विकासको गफ गर्न होइन विकासको काम गर्न प्रतिबद्ध छन् भन्ने कुराको प्रमाण हो । अब यसको अप्रेशन मोडालिटी छिटो तयार हुनुपर्छ,’उनले भने ।
नेकपा एमालेका उपाध्यक्ष तथा यस क्षेत्रका सांसद रहेका पौडेलले यो सम्मेलन केन्द्रमा अन्तर्राष्ट्रिय सम्मेलन तथा विभिन्न अन्तर्राष्ट्रिय स्तरका कार्यक्म आयोजना गर्नेबारे सरकारले ध्यान दिनुपर्ने बताए ।

विकासमा नयाँ मानक स्थापना गर्न रुपन्देही सफल भएको जनाउँदै उनले यहाँ निर्माण भएको ६ लेन सडक, अन्तर्राष्ट्रिय विमानस्थललगायत महत्वपूर्ण आयोजनाले यो ठाउँलाई अझै माथि लैजाने विश्वास व्यक्त गरे ।
‘भौतिक पूर्वाधार मात्र नभई शिक्षा, स्वास्थ्य र मानवीय विकासका दृष्टिकोणले देशको नमुना जिल्ला बन्दै गएको छ । यसमा गर्वबोध गर्न चाहन्छु । ‘एक समय थियो बुटवलदेखि सुनौली पुग्न एक घण्टा लाग्थ्यो । अहिले चारलेन सडक निर्माणपछि दूरी छोटिएको छ ।’उनले भने । रुपन्देही विकास हेर्न र सिक्न आउने थलोका रुपमा विकसित हुँदै गएको उनको भनाइ छ ।

उनले २०५१ सालदेखि सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो चरणको काम सम्पन्न भई उद्घाटन भएपनि दोस्रो चरणको काम अघि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
पूर्वमन्त्री पौडेलले लामो समयसम्म पनि लुम्बिनी गुरुयोजनाको पूर्ण कार्यान्वयन हुन नसकेको जनाउँदै यो योजना पूरा गर्नतर्फ सरकारले ध्यान दिनुपर्ने बताए । राष्ट्रले लाभ लिने दृष्टिकोणले यो आयोजना निकै महत्वपूर्ण रहेको उनको भनाइ छ ।
आफ्नो पहल र अगुवाईमा निर्माण भएको ड्रिम प्रोजेक्टको उद्घाटन समारोहमा सहभागी हुन नेता पौडेल पार्टीको केन्द्रिय कमिटी बैठकलाई छाडेर प्रधानमन्त्री देउवासँगै बुटवल आएका हुन् ।