प्रकाश आचार्य
बुटवल, । बुटवल देवीनगरकी विष्णु चापागाईका छोरा गएको चैतमा चार वर्ष पुगे । अबको शैक्षिक सत्रदेखि छोरालाई विद्यालय पठाउने सोंच राखेकी चापागाई अहिले विद्यालयको खोजीमा छिन् । श्रीमान विदेशमा सामान्य मजदुरी गर्ने भएकोले छोराको खर्च, घरपरिवार र केही रकम बचत गनुपर्ने उनको बाध्यता छ । ‘यस वर्षदेखि छोरालाई विद्यालय पठाउने हो’ उनले भनिन्, ‘गुणस्तरीय पढाइ , अनुशासित वातावरण भएको विद्यालयको खोजीमा छु ।’
बुटवलकै शर्मिला शर्माकी छोरी यसै वर्ष साढे तीन वर्षकी भइन् । उनलाई पनि छोरीका लागि विद्यालयको छनौट कसरी गर्ने भन्ने चासो छ । बुटवलको कुन विद्यालयमा पढाउने ? भन्ने सोंचविचार गर्दै उनले १० दिन कटाइन् । ‘धेरै जनासँग छोरीलाई कुन विद्यालयमा पढाउँदा राम्रो हुन्छ ? भनेर सोध÷खोज गरँे’ उनले भनिन्, ‘पूर्व प्रावि कुन स्कूलको राम्रो छ त्यहीँ विद्यालयमा भर्ना गराउँछु । पूर्व प्राथामिकको पढाइदेखि नैं आफ्ना छोरा÷छोरीलाई कस्तो विद्यालयमा पढाइन्छ त्यसको प्रभाव माविदेखि उच्च शिक्षाको तहसम्म पनि देखिन्छ ।’
रूपन्देहीका सामुदायिक र निजी विद्यालयको पढाइ समग्रमा राम्रो छ । जिल्लाका पूर्व प्राविको शिक्षा पनि राम्रो रहेको जिल्ला शिक्षा कार्यालय रूपन्देहीको भनाइ छ । विद्यालयको शैक्षिक लक्ष्य, सिकाइ उपलब्धि र कक्षाकोठाको व्यवस्थापनलाई हेरेर विद्यालय छनौट गनुपर्ने जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाको सुझाव छ । ‘विद्यार्थी विद्यालयमा बस्ने समय ६ घण्टा हो’ थापाले भने, ‘नैतिकता सहितको गुणस्तर, प्रयोगात्मक सिकाइ, घरेलु वातावरण र साथी जस्ता शिक्षक भएका विद्यालय साना बालबालिका लागि उपर्युक्त हुन्छन् । ठूला भवन र टाढाटाढा गाडीमा पठाउनु आवश्यक होइन ।’
जिल्ला शिक्षा कार्यालयबाट अनुमति लिएर सञ्चालन भएका विद्यालयमा मात्र आफ्ना छोराछोरी भर्ना गर्नुपर्ने थापा बताउँछन् । ‘कतिपय विद्यालयले प्राविको अनुमति लिएर मावि सञ्चालन गरेका छन् । त्यस्ता विद्यालयमा बालबालिकालाई भर्ना गर्नु हुँदैन ।’ उनले प्रष्टाए । भौतिक पूर्वाधार, खेलकूद, प्रयोगात्मक पक्षलाई ख्याल गनुपर्ने हुन्छ ।’ रूपन्देहीका अधिकांश निजी विद्यालयले पूर्वप्राथामिक तहमा मन्टेश्वरी पद्दति अंँगालेका छन् । मन्टेश्वरी आधारमा पढाइ हुने विद्यालयको शुल्क महंगो छ । त्यसैले आम्दानी÷ खर्चलाई ध्यान दिएर विद्यालय चयन गर्नुपर्ने अवस्थामा अभिभावक छन् । पहिलो पटक बालबालिका जे कुरा र वातावरणको अनुभुति गर्छन्, त्यसको असर पछिसम्म पर्ने हुँदा राम्रो विद्यालय छनौट गर्नुपर्ने आम अभिभावकको बुझाइ छ ।
अभिभावक संघ रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले दवाब होइन हौसला प्रदान गरेर पढाउने विद्यालय रोज्नुपर्ने बताउँछन् । ‘हाम्रा विद्यालयहरूले अझै पनि दबाएर घोकाएर विद्यार्थीले सिक्छन् भन्ने ठानेर दण्ड दिई सिकाउने विद्यालय रोज्छन्’ ज्ञवालीले भने, ‘तर आफ्नो घर वरपरको विद्यालय हिँडरै जाने सक्ने विद्यालयमा भर्ना गर्दा विद्यार्थीको लागि उपयुक्त हुन्छ । बिहान ८ देखि साँझ ६ बजेसम्म विद्यार्थीहरूलाई विद्यालय र गाडीमा बस्दा बोझ थपिन्छ । त्यस्तैले घर नजिकैको विद्यालय हिँडेरै जाने सक्ने विद्यालय रोज्नुपर्ने ।’ बुटवलका केही विद्यालयलमा भैरहवा, सेमलार, चरङ्गे, गोलपार्कसम्मका विद्यार्थीहरू अध्ययन गर्छन् ।
विद्यालयमा पाठ्यपुस्तक मात्र नपढाइ बाहिरी ज्ञान दिने, नैतिकता सहितको गुणस्तरीय प्रयोगात्मक सिकाइ, विद्यार्थी केन्द्रित शिक्षण विधि, विद्यार्थीको क्षमता पहिचान, घरेलु वातावरण, शिक्षणमा नयाँ चिन्तन, कतव्र्य निष्ठ सिकाइ लक्ष्य, संस्कार युक्त शिक्षा हुनुपर्ने ज्ञवालीको भनाइ छ ।
भर्ना अभियान सुरू
यसैबीच जिल्ला शिक्षा कार्यालय रूपन्देही भर्ना अभियान सुरू गरेको छ । जिल्लामा ७ हजारभन्दा बालबालिका विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयको पहुँचभित्र ल्याउन भन्दैभन्दै भर्ना अभियान सुरू गरेको हो । अभियान अन्तर्गत विभिन्न गाउँपालिका र नगरपालिकामा १५ दिनेसम्म अभियान सञ्चालन गरिने जिल्ला शिक्षा अधिकारी थापाले जानकारी दिए ।
राम्रा विद्यालयको खोजीमा अभिभावक
