इन्दिरा खनाल
बुटवल, । गत चैत १९ गते बुटवल–१३, बेलवासमा बिस्फोटको आवाज आयो । साँझ ५ बजेतिर ठूलो आवाज सहित बिस्फोट भएको सुनेपछि बेलवासबासी एकत्रित भए । त्यो आवाज कुनै बम वा बन्दुकको थिएन । त्यहांँ त घरमा खाना पकाउने ग्यासको सिलिण्डर पड्केको थियो ।
अर्घाखांँचीबाट केही वर्षअघि बेलवास झरेका पिताम्बर आचार्यको घरमा सिलिण्डर पड्किँदा मानवीय क्षति त भएन, तर हजारौंको धनमाल जलेर नष्ट भयो । ९८ वर्षकी आमासहित परिवार घरमा रहेका बेला सिलिण्डरमा आगो लागेपछि कसैले कपडाले सिलिण्डर छोपे त कसैले छिमेकमा गुहार माग्न थाले । गुहार माग्दा माग्दै सिलिण्डर बिस्फोट भयो । ‘भान्छामा रहेका कुनै पनि समान बचेनन् धन्न सबैको ज्यान बच्यो’ त्यो दिनको घटना सम्झँंदै आचार्य भन्छन्, ‘अहिले पनि त्यो दिन सम्झंँदा ज्यान सिरिङ हुन्छ ।’
आचार्यले २०३४ सालमा भारतको दिल्ली र २०३६ सालमा पञ्जाबमा ग्यास पड्केको प्रत्यक्ष देखेका थिए । तर, आफ्नै घरमा परेपछि उनी अत्तालिए । त्यतिबेला आचार्यले भोगेको घटनामा ८ जनाले ज्यान समेत गुमाएका थिए । त्यस्तै ४ वर्ष पहिले बुटवल–१३ (साविकको), कालिकानगरको माहादेव पथमा लक्ष्मी पाण्डेको घरमा पनि खाना पकाउने एलपी ग्यासको सिलिण्डर पड्केको थियो । सांँझ ७ बजेको समयमा खाना पकाउँदै गर्दा भएको उक्त घटनामा पनि मानवीय क्षति त भएन तर, त्रास भने बढायो । छिमेकीहरु पनि अत्तालिएको मनमाया राना बताउंँछिन् । त्यहाँ पनि मानवीय क्षति त भएन, तर भान्साको सबै सामान जलेर नष्ट भएको थियो ।
२०६७ जेठ १० गते बिहान ८ बजे काठमाडौंँ, स्वयम्भुको बिजयश्वरीमा डेरा गरी बस्दै आएका रमेश नेपालीको पूरा परिवारले यस्तै दर्दनाक घटनामा ज्यान गुमाएको थियो । खाना पकाउँदै गर्दाको सिलिण्डर विष्फोट हुँदा रमेशकी पत्नी सीता, ४ वर्षीय छोरा रमित, १ वर्षकी छोरी रमिला नेपालीको अनाहकमै ज्यान गएको थियो । उक्त घटनामा अन्य ४ जना पनि घाइते भएका थिए ।
त्यसैगरी २०६७ साउन २९ गते ग्यास सिलिण्डर विस्फोटबाट एकीकृत नेकपा (माओवादी) की तत्कालीन सभासद् रामकुमारी यादवको मृत्यु भएको थियो । मध्यान्ह ३ बजे भान्छामा पुगेर कोठाको बिजुली स्वीच अन गर्ने क्रममा ग्यांसबाट आगलागी हु“दा उनी जलेर गम्भीर घाइते भएकी थिइन् । उपचारको क्रममा उनको निधन भएको थियो ।
झण्डै १० बर्ष पहिले नेपालगन्जको धम्बोझी चोकमा रहेका महिलाहरुले सञ्चालन गरेको साइनो होटलमा भएको सिलिण्डर विष्फोटले सिङ्गो होटल ध्वस्त भएको थियो । ग्यास सिलिण्डरको कमजोरीका कारण बिस्फोट भएको भन्दै सिलिण्डरको बिमा गर्ने बिमा कम्पनीले ५० हजार बराबरको बिमा समेत भरेको थियो । बिगत १० वर्षमा मुलुक भर ग्यास दूर्घटनामा १२ बढी नेपालीको मृत्यु भइसकेको छ ।
नेपालमा जति पनि ग्यांस उद्योग छन् तिनले प्रयोग गर्ने सिलिण्डर जोखिमयुक्त रहेको भन्दै उपभोक्ता अधिकारकर्मीहरुले आवाज उठाएपनि त्यो सुनुवाई भएको छैन । सिलिण्डरमा हाईड्रोलिक परीक्षण समेत नगरिएको गुनासो छ । यसका अतिरिक्त ग्यास चुहिने धेरै कारण मध्ये सिलिण्डरको कम गुणस्तर हुनु रहेको विज्ञहरु बताउँछन् । ग्यास उपभोक्ताको लापरवाही पनि यसको जिम्मेवार रहेको अधिकारकर्मीहरु बताउँछन् । हाइड्रोलिक परीक्षण गराउने उपकरण नेपालमै नरहेको उद्योगीहरु बताउँछन् । सिलिण्डरको मोटाई, तौल र त्यसमा भरिएको ग्यासको तौल तथा त्यो थेग्न सक्ने क्षमता के कति छ ? भनेर नाप जाँच गर्ने काम नै हाइड्रोलिक परीक्षण हो ।
अन्तर्राष्ट्रिय मान्यता अनुसार ७ वर्षमा एक पटक सिलिण्डरको हाइड्रोलिक परीक्षण गराउनुपर्ने, पाइप, रेगुलेटर र चुल्हो पनि मापदण्डको हुनुपर्ने हुन्छ । तर, हामीकहाँ उपभोक्ताहरु खासै वास्ता गर्दैनन् । तर नेपालमा सिलिण्डरको हाइड्रोलिक परीक्षणमा सरकारी निकायको भूमिका पनि प्रभावकारी छैन । तर ग्यास कम्पनीहरु सिलिण्डरका कारण मात्र बिष्फोट नहुने तर्क गर्दै आएका छन् । उपभोक्ताहरुले कमसल रेगुलेटर प्रयोग गर्ने तथा बेलाबेलामा सरसफाइ नगर्दा पनि दूर्घटना हुन सक्ने सिद्धार्थ ग्यास कम्पनीका प्रबन्धक निराजन अधिकारीको दाबी छ ।
सभासद्को मृत्यु भएपछि राज्यले सीमित भएपनि केही नीति बनाएर लागू गराउने प्रयास समेत गरेको थियो । तर घटना पुरानो भएसंँगै राज्यको अनुगमन पनि फितलो बन्दै गएको छ । जसका कारण यतिबेला प्रत्येक पसलहरुमा मापदण्ड विपरीत रेगुलेटर, ग्यास चुल्हो र पाइपहरु सजिलै उपलब्ध हुने गरेका छन् । हुन त बजार अनुगमन गर्ने मुख्य निकाय भनेकै वाणिज्य तथा आपूर्ति मन्त्रालय हो । वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको अनुगमनकारी निकाय हो, नेपाल नापतौल तथा गुणस्तर विभाग । विभागले ग्यास सिलिण्डरबारे बजारमा अनुगमन गर्न थाले पनि कारबाहीको प्रभावकारी कदम भने चाल्न सकेको छैन । ऐन बमोजिम गुणस्तर तथा नाप तौल बिभागको जिम्मामा रहेको अनुगमन तथा कारवाहीको जिम्मेवारी सम्बन्धित मातहतका कार्यालयहरुमा नदिइएका कारण बजारमा प्रभावकारी अनुगमन हुन सकेको छैन । ग्यासको तौल पुगे नपुगेको बाहेक अन्य अनुगमन गर्ने अधिकार आफूहरुसंँग नभएको नापतौल तथा गुणस्तर क्षेत्रीय कार्यालय बुटवलका प्रमुख योगेन्द्र पौडेल बताउंँछन् ।
ग्यास बिक्री सम्बन्धमा २०६३ साल पुस २८ गते सर्वोच्च अदालतका न्यायाधीश द्वय केदारप्रसाद गिरी र शारदा श्रेष्ठको संयुक्त ईजलासले गरेको एउटा फैसलामा नेपाल गुणस्तर (प्रमाण चिन्ह ) ऐन २०३७ ले दिएको अधिकार प्रयोग गरेर नेपाल गुणस्तर परिषद्ले तर्जुमा गरी लागू भएको एलपी ग्यास सिलिण्डर आचार संहिता नेपाल गुणस्तर ३७६÷२०५३ को नियमहरुको नियम ३।१२ मा सिलिण्डरलाई उद्योगकै सम्पत्ति मानी ग्यासको सिलिण्डर दूर्घटना भई क्षति भएमा उद्योगलाई नै जिम्मेवार बनाउने प्रावधान भएबाट ग्यास सिलिण्डर बिक्री नहुने वा बिक्री गर्न नपाइने प्रष्ट गरेको छ । सर्बोच्चले सोही फैसलामा सिलिण्डर वस्तु भए पनि कारोबारमा त्यसको हक र स्वामित्व हस्तान्तरण नहुने फैसला गरेको थियो ।
ग्यासको सिलिण्डरबाट दूर्घटना भयो भने त्यस्ता कम्पनी र बिक्री गर्ने बिक्रेतालाई समेत उपभोक्ता हीत संरक्षण ऐन अनुसार कर्तव्य ज्यान मुद्दा लाग्ने र क्षतिपूर्तिको दाबीसहित कारवाही हुन सक्ने व्यवस्था भएपनि उपभोक्तालाई यसबारे कहींँ कसैले जानकारी दिएको पाइँदैन ।
नेपाल आयल निगम र एलपी ग्यास उद्योग संघका अनुसार नेपालको बजारमा हाल ६२ लाख सिलिण्डर रहेको छ । वि.स २०६८ को जन गणना अनुसार २ करोड ६४ लाख जनतामा ६२ लाख बढी सिलिण्डर बितरण गरिएको तथ्यांक रहेपनि बजारमा हरेक महिना सिलिण्डरको हाहाकार हुन छाडेको छैन । अझै काबरा ग्रुपको युरोटेक मेटल र कालु गुरुङ्गको गृहलक्ष्मी मेटलबाट उत्पादन हुने प्रतिदिन ४ हजार ८ सय सिलिण्डर पनि बजारमा हरेक दिन थप भै रहेका छन् ।
नेपालका सबै ग्यास कम्पनीले स्वदेशी सिलिण्डर प्रयोग गरेपनि नेपाल ग्यासले भने भारतबाट सिलिण्डर आयात गर्दै आएको छ । ६२ लाख सिलिण्डर मध्ये २० प्रतिशत बिक्रेता र उद्योगीहरुसँग रहेपनि ८० प्रतिशत सिलिण्डर उपभोक्ताहरुसंँगै रहेको उद्योगीहरुले भन्दै आएका छन् । सिलिण्डरलाई रकमान्तर गर्दा झण्डै १४ अर्ब भन्दा बढीको ग्यांस सिलिण्डर बजारमा रहेको उद्योगीहरुको दाबी छ । आयल निगमले मासिक ३४ हजार ८ सय ३० कोटा निर्धारण गरेपनि २६ हजार ४ सय २७ मेट्रिक टन ग्यास मात्र आपूर्ति गर्न सकेको छ । सिलिण्डरको बितरणबाट प्रत्येक ४ जना नेपालीसँंग १ थान सिलिण्डर हुनु पर्नेमा किन अभाव हुन्छ नेपालमा ग्यास ? त्यो भने रहश्यनै भन्नु पर्दछ ।
घर–घरमा बमको जस्तै जोखिम
राज्यले ग्यासको बितरण उत्पादन र नियन्त्रण सम्बन्धी नीति बनाउन नसक्दा अहिलेपनि उपभोक्ताहरुले घरघरमा बमकै जस्तो जोखिम मोल्नु परेको छ । स्थानीय प्रशासनको फितलो अनुगमनका कारण बजारमा अहिलेपनि साना गुणस्तरहिन ग्यास सिलिण्डर खुल्ला रुपमै बिक्री भइरहेको उपभोक्ता हीत संरक्षण मञ्च नेपालका केन्द्रीय सचिव तथा जिल्ला अध्यक्ष नर्बू लामाको प्रतिक्रिया छ । मापदण्ड विपरितका ग्यासका सामाग्रीहरु पनि बजारमा छ्यापछ्याप्ती पाइन्छन । जुन जोखिम बढाउने माध्यम हो ।
नेपाल आयल निगमले २०६२ सालमा बढी फुटरिङ गरेको भन्दै एभरेष्ट ग्यास उद्योगलाई कारवाहीको चेतावनी दिएको थियो । सोही वर्ष सुगम ग्यास उद्योगमाथि पनि सरकारले कारबाही समेत गरेको थियो । कारबाहीमा परेका सुगम ग्यास उद्योगका संचालक शिव घिमिरेलाई ग्यास उद्योगीहरुले पुरस्कृत गर्दै एलपी ग्यास उद्योग संघको अध्यक्ष नै बनाएका थिए ।
राज्यले बनाएको नीतिमा अनुगमन गर्न वाणिज्य विभागको नेतृत्वमा नेपाल गुणस्तर तथा नापतौल विभाग, उपभोक्ता हकहितस“ग सम्बन्धित संघ÷संस्था, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र नेपाल आयल निगमका प्रतिनिधि रहने व्यवस्था छ । अनुगमनका क्रममा अनियमितता भएको पाइएमा उद्योगलाई ग्यास उपलब्ध नगराउने, रेगुलेटर र पाइपमा सम्बन्धित उत्पादक मुलुकको गुणस्तर चिन्ह उल्लेख नभए त्यस्ता रेगुलेटर र पाइप जफत गर्ने तथा ग्यासको उपयोगबारे जनचेतना अभियान तीव्र पार्ने समितिको काम कर्तव्य र अधिकारभित्र पर्दछन् ।
ग्यास उपयोगका क्रममा सबभन्दा बढी उपभोक्ता जागरुक हुनु पर्दछ । कुनैपनि ग्यास सिलिण्डरबारे आफूलाई शंका लागेमा उपभोक्ताले सम्बन्धित सरकारी निकायमा खबर गर्नुपनि उत्तिकै जरुरी छ । उपभोक्ता हकहित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष लामा भने घटना भएपछि मात्र जागरुक बन्ने परिपाटीले उपभोक्ताहरु ठगिने गरेको बताउंँछन् । उनका अनुसार २ वर्ष पहिले रुपन्देहीमा बजार अनुगमन गर्दा धेरै म्याद नाघेका, पुराना, कुच्चिएका सिलिण्डर भेटिएका थिए । तर प्रशासनले कुनै कारवाही नगरी सम्झाई बुझाई छाडिदिंँदा लापरवाही कायम नै रहेको छ ।
तस्वीर ः
बेलबासमा पड्केको ग्यास ।
कहाँ पड्किए ग्यास के भयो क्षति ?
२०७३ चैत १९ गते बुटवल–१३ बेलबासमा पिताम्बर आचार्य ।
४ वर्ष पहिले बुटवल– १२ कालिकानगरमा लक्ष्मी पाण्डे ।
२०६७ जेठ १० गते काठमाडौं, स्वयम्भुको बिजयश्वरीमा डेरा गरी बस्दै आएका रमेश नेपालीका परिवारको मृत्यु । अन्य ४ जना पनि घाइते ।
२०६७ साउन २९ गते ग्यांस सिलिण्डर विस्फोटबाट एकीकृत नेकपा (माओवादी) की तत्कालीन सभासद् रामकुमारी यादवको मृत्यु ।
विगत १० वर्षमा मुलुक भर ग्यास दुर्घटनामा १२ जना बढी नेपालीले ज्यान गुमाइसकेका छन् ।