बुटवल, । उर्जामन्त्री जर्नाजन शर्मा ‘प्रभाकर’ ले एमालेकै समर्थनमा संविधान संशोधन प्रस्ताव पारित हुने दाबी गरेका छन् । संविधान संशोधन बहुमत र अल्पमतको कुरा नभई राष्ट्रिय आवश्यकता भएको भन्दै मन्त्री शर्माले एमालेकै सहमतिमा संविधान संशोधन पारित गरेर राष्ट्रिय सहमतिको आधारमा निर्वाचन हुने दाबी गरे ।
प्रेस सेन्टर नेपाल, रूपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले भने, ‘एमालेले पनि आफ्नो संशोधन प्रस्ताव राख्छ । सरकारले पनि संशोधन प्रस्ताव राख्छ । दुबैको संशोधन प्रस्ताव सहमतिमा आधारमा पास गरेर मुलुक निर्वाचनमा होमिन्छ ।’ माओवादी केन्द्रका नेता समेत मन्त्री शर्माले थपे, ‘अहिलेको संशोधन प्रस्तावमा कुनै राष्ट्रघात बिरोधी बुँदाहरू छैनन् । एमाले संशोधनको पक्षमा आउनुको विकल्प छैन ।’
संविधान संशोधन हुन दिँदैनौँ भन्नु नेपाली जनताको अपमान हुने शर्माको भनाइ छ । मन्त्री शर्माले निर्वाचन कुनै पनि हालतमा नसर्ने स्पष्ट पारे । ‘निर्वाचन दुई चरण (वैशाख ३१ र जेठ ३१ गते) मा हुन्छ– मन्त्री शर्माले भने । ‘अझै दलहरूबीच सहमति नबन्दा निर्वाचन हुँदैन कि भन्ने आंशका जनतामा देखिएको मैले पनि पाएँ । कुनै पनि हालतमा तोकिएकै मिति वैशाख ३१ र जेठ ३१ मा दुई चरणमा निर्वाचन हुन्छ । सबैलाई विश्वस्त हुर्नुहोस् ।’ २० वर्षपछि हुन लागेको निर्वाचनलाई उत्सवका रूपमा सफल बनाउनु सबै दलको दायित्व भएको उनको भनाइ छ ।
उज्यालो नेपाल अभियानका अभियान्ता समेत रहेको नेता शर्माले मुलुकमा अब कहिल्यै लोडसेडिङ नहुने बताए । ‘अबको ७ वर्षमा १७ हजार मेगावाट विद्युत उत्पादन हुँदैछ’ उर्जामन्त्री ‘प्रभावक’ भने, ‘सरकारले आठ हजार र निजी क्षेत्रबाट ९ हजार मेगावाट विद्युत उत्पादन हुन्छ । अबको दश वर्षमा मुलुक विश्वकै आर्थिक वृद्धिदर धेरै हुने मुलुकको दाँजोमा पुग्छ ।’ मन्त्री शर्माले थपे,– ‘अहिले भएको उर्जा संकट समाधान भएपछि मुलुकको आर्थिक वृद्धिदर अहिलेसम्मकै धेरै ७ प्रतिशत पुगेको छ ।’ उनले अबको तीन वर्षभित्रमा ग्यासको प्रयोग हटाएर त्यसको विकल्पमा विद्युतीय उपकरणको प्रयोग भइसक्ने महत्वकांक्षी योजना समेत सुनाए । उनले भने, ‘मुलुक उज्योलो भयो । यसले गर्दा मुलुकमा यूवाहरू र उद्योगी व्यवसायीहरू पनि उत्साहित भएका छन । अबको तीन वर्षमा ग्यासको प्रयोग हटेर विद्युत्को प्रयोग हुनेछ ।’
जलविद्युत् आयोजना निर्माणमा स्थानीय जनसहभागिता अपरिहार्य रहेको बताउँदै उनले उत्पादित विद्युत् खपतका लागि मुलुकमा ठूला उद्योग सञ्चालनमा निजी क्षेत्रको ध्यान केन्द्रित हुनुपर्ने समेत जोड दिए । ‘नेपालको पानी जनताको लगानी’ भन्दै उनले विद्युत् उत्पादनसँगै औद्योगिकीकरण गरेर पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र सडकको विकास निर्माणमा जुट्नुपर्नेमा जोड दिए ।
पछिल्लो समय यस क्षेत्रमा देखिएको ट्रिपिङ र लो भोल्टेजको समस्याबार पत्रकारहरूले राखेको जिज्ञासामा मन्त्री शर्माले भने,– ‘हामीकहाँबाट त्यस्तो समस्या देखिएको छैन । भारतबाट आएको विद्युत्मा खराबी रहेको पाएँको छु । यो चाँडै अन्त्य हुन्छ ।’ उनले केही आयोजनाहरुको मर्मत सम्भारको काम भइरहेकाले त्यसको असर रूपन्देहीमा देखिएको हुन सक्ने उनले बताए । शर्माले भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज) लाई पनि विद्युत वितरण गरेर सञ्चालनमा ल्याइने जानकारी दिए । विद्युत आपूर्ति नहुँदा दुई पटकसम्म उद्घाटन भए पनि सेज सञ्चालनमा आउन सकेको छैन । उज्यालो नेपाल अभियानका शिलशिलामा रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुन नेता शर्मा शनिबार यहाँ आएका हुन् । प्रेस सेन्टर रूपन्देहीका अध्यक्ष भुवन कार्कीको अध्यक्षता तथा सचिव मोहन न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो ।
एमालेकै समर्थनमा संविधान संशोधन हुन्छ ः मन्त्री शर्मा
