काठमाडौं : प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएको छ ।
सत्तारुढ माओवादी र कांग्रेसका सांसदहरुले आइतबार महाअभियोग दर्ता गरेका हुन् । कांग्रेस नेता मीनबहादुर विश्वकर्माका अनुसार प्रस्तावमा २५९ जनाले हस्ताक्षर गरेका छन् । प्रस्तावकमा विश्वकर्मा र माओवादी प्रमुख सचेतक टेकबहादुर विश्वकर्मा समर्थक छन् ।
कार्यपालिकाको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको, कार्यसम्पादन क्षमताको अभाव देखिएको , व्यक्तिगत आशयबाट प्रभावित भई फैसला गरेको, न्यायाधीशहरुमाथि फरक फरक व्यवहार गर्दै न्यायालयमा गुटबन्दी गर्न खोजेको अभियोग लगाइएको छ। कांग्रेस नेता विश्वकर्माले नेपाल तारासँग भने, कार्यपालिकालाई काम गर्न नदिएर शक्ति सन्तुलन नै खलबलाएकोले हामीले यो प्रस्ताव दर्ता गराएका हौं। अहिले उपलब्ध २५९ जनाले हस्ताक्षर गरे पनि यो प्रस्ताव दुई तिहाइले पारित हुन्छ।’
महाअभियोग दर्ता भएपछि प्रधानन्यायाधीश कार्कीको निलम्बनको पत्र राष्ट्रपति कार्यालयमा पठाइएको छ ।महाअभियोग दर्ता भएपछि स्वत : निलम्बनमा पर्ने कानुनी व्यवस्था छ। सुशीलाले अब प्रधानन्यायाधीशको रुपमा भूमिका निर्वाह गर्न पाउने छैनन्।
नेपाल प्रहरीको आइजीपीमा जयबहादुर चन्दलाई नियुक्त गर्ने निर्णयलाई सुशीलासहितको पूर्ण इजालसले बदर गरिदिएपछि सरकार र न्यायापालिकाबीच टकाराब सुरु भएको थियो। कार्यपालिकाको अधिकारमाथि सर्वोच्चबाट हस्तक्षेप भएको भन्दै सुशीलाकाे भूमिकाकाे आलोचना भएको थियो। यसअघि सुशीलाले अख्तियार प्रमुख लोकमान सिंह कार्कीको नियुक्ति पनि बदर गरिदिएकी थिइन्।