अमृत गिरी
बुटवल । पाँच नम्बर प्रदेशका दुवै छिमेकी प्रदेशहरु तीन र छ मा उम्मेदारी दर्ता भएर चुनावी प्रचार–प्रसार तीब्र छ । नवलपरासीको दाउन्ने डाँडादेखि उता चुनावी माहोल छ, बाँकेको कोहलपुरबाट उत्तर सुर्खेततिर पनि चुनावी माहोल तीब्र छ । यो बीचको पाँच नम्बर प्रदेशमा पनि चुनावी माहोल बढेको थियो तर अर्को चरण घोषणा हुनु अगाडि सम्म । अहिले भने यहाँ दलहरु कोसँग तालमेल गर्ने भन्ने रणनीतिमा मात्रै केन्द्रित छन् ।
चुनावका बेला राजनीतिक तवरमा हुने तालमेललाई अन्यथा मान्न नसकिए पनि तालमेल गर्नेहरुबीच तत्कालीन राजनीतिक मुद्दा मिल्नु अनिवार्य हुन्छ । तर, यसपटकको स्थानीय तहको चुनावमा राजनीतिक र दलगत तालमेल भन्दा पार्टीको उच्च नेतृत्वमा रहेका नेताहरुका कतिपय आकांक्षाहरु प्रकट भएको देखिएका छन् ।
सत्तासीन नेपाली कांग्रेस र माओवादीले महानगरमा मात्रै होइन देशका अधिकांश स्थानमा तालमेल गरेका छन् । खासगरी ओली सरकार ढालेर कांग्रेस–माओवादी गठबन्धन बनाउँदाकै बेला उनीहरुलाई छिमेकी भारतले आफ्नो एजेण्डा थमाइदिएको विश्लेषकहरु दाकी गर्छन् । त्यसलाई पूरा गर्नका लागि राजनीतिमा अकल्पनीय कदम चाल्दै कहिले संविधान संशोधन त कहिले महाअभियोगको प्रस्ताव प्रयोग गर्ने काममा यी दुवै दल लागेका छन् ।
केन्द्रमा भइरहेका यस्ता सबै काममा जिल्ला स्तरका नेताहरु सबै सन्तुष्ट छैनन । कतिपय नेतृत्वको आलोचनामा उत्रिए पनि धेरैजसोहरु अनुशासनमा छन । तर, उनीहरुले सबैतिरको एउटै अवस्था नहुने भन्दै आवश्यकताका आधारमा तालमेल हुने बताउँछन् ।
वैशाख ३१ गतेका लागि तय भएको चुनाव एक महिना पछि स¥यो जेठ ३१ गतेका लागि । यद्यपि यो बीचमा बजेट डे पनि परेको र मुस्लिम समुदायको महान् पर्व रमजान पनि यहीँ समयमा परेकाले यो नै तिथि मिति अन्तिम नहुन सक्छ यो चरणको चुनाव पनि अँघिपछि हुन सक्ने सम्भावना उत्तिकै छ । अहिले चुनाव हुन लागेका तीन प्रदेशका ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहमा जसरी अन्तिमसम्म तालमेलको रुप बन्यो यता पनि त्यस्तै नहोला भन्न सकिन्न ।
यसअघि नै सत्तारुढ दलहरु मिल्छन, भागबण्डा गरिसके रे भन्ने खालका हल्लाहरु आइरहेकाले यता पनि दलहरुका बीचमा तालमेल नहुने कुरै छैन । तर, उता जसरी नै सोही खालको समिकरण यता हुन्छ नै भन्ने ग्यारेन्टी भने छैन । कहीँ सत्तारुढहरु, कँही सत्तारुढ–प्रतिपक्ष त कँही प्रतिपक्षहरुका बीचमा तालमेल भएकाले यहाँ पनि त्यस्तै अवस्था आउन सक्ने विश्लेषकहरु बताउँछन् ।
उम्मेदवारी टुंग्याउनमै ढिलाई
बीस वर्षपछि स्थानीय चुनाव हुन लागेकाले सबै दलमा सबैतिर उत्तिकै आकांक्षीहरु देखिनु स्वभाविक हो । प्रमुख दलमा एकसेएक दाबेदार हुनु र सबैले आकांक्षा नत्याग्नुले ठूला दलमा उम्मेदवारको टुंगो लाग्न धेरै समय लाग्यो । यति सम्म भयो कि अरु केही दल र स्वतन्त्रका उम्मेदवारहरु मनोनयन दर्ता गराएर मिडियामा छाइरहे । तर, ठूला दलको अत्तोपत्तो नै छैन ।
किन यस्तो भएको रहेछ भन्ने कुराको भेउ दर्ता भएका उम्मेदवारी मनोनयन अर्कै पार्टीका उम्मेदवारका लागि फिर्ता लिनुपर्ने सम्म भएपछि थाहा भयो । सत्तारुढ दल कांग्रेस–माओवादीका बीचमा काठमाण्डौसहित मुलुकका ४ वटा महानगरमा चुनावी तालमेल भयो । यसको सुइँको पहिल्यै नै पाएको एमालेले अर्को प्रतिपक्षी दल राप्रपासित काठमाण्डौमा चुनावी तालमेल ग¥यो । यी तालमेलले सबैजसो पार्टीमा अन्तरकलह निम्तिएपनि सबैभन्दा धेरै कांग्रेसमा भयो । खासगरी भरतपुर महानगरका उम्मेदवार दिनेश कोइरालाले माओवादीकी उम्मेदवार रेणू दाहालका लागि आफूले उम्मेदवारी फिर्ता लिइदिनुपर्ने भएपछि भयो ।
के भन्छन रुपन्देहीका नेताहरु
रुपन्देही जिल्ला केन्द्रपछिको महत्वपूर्ण जिल्ला मानिन्छ । लुम्बिनी, अन्तर्राष्ट्रिय विमानस्थल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, सुनौली नाकासम्मै छ लेनको सडक सञ्जाल, औद्योगिक क्षेत्रलगायतका हिसाबले रुपन्देही यो पाँच नम्बर प्रदेशकै केन्द्र मानिन्छ । यो केन्द्रमा रहेका राजनीतिक दलहरुले यहीँ दलसित नै तालमेल गर्ने भन्ने अझै टुंगो नलागेको तर, छलफलहरु विभिन्न चरणमा भइरहेको बताउँछन । मुख्य प्रतिद्वन्द्वीबाहेकसित तालमेल हुन सक्ने प्रमुख दलका नेताहरु बताउँछन् । प्रमुख ठूला दल कांग्रेस, एमाले, माओवादी, राप्रपाले केन्द्रीय स्तरको एउटा लविङ र जिल्ला स्तरको अर्को लविङ गर्दै तालमेलका लागि छलफलहरु चलाएका छन् ।
जेठ ३१ गतेका लागि तय भएको दोस्रो चरणको चुनावका लागि दलहरु रणनीति बनाउन व्यस्त छन् । ठूला दलले उम्मेदवार टुंगो लगाउन माथिल्ला तहमा सिफारिस गर्दै आफूहरु तल्ला तहमा कसरी अगाडि बढ्ने रणनीति बनाउन लागेका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, जनमोर्चा, मधेशी मोर्चाहरु मिलेर बनेको राजपा, जनमुक्तिलगायतका दलहरुको मुख्य उपस्थिति छ । अन्त भएका चुनावी तालमेलको हुवहु यहाँ नहुन सक्छ । अहिले सम्म कुनै पनि टुंगोमा नपुगेको बताउने यहाँका नेताहरुले आवश्यकता अनुसार तालमेल र सहकार्य हुने साझा प्रतिक्रिया दिन्छन् ।
कांग्रेसका सभापति तथा सांसद् अब्दूल रज्जाक, एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुवेदी, राप्रपाका जिल्ला प्रवक्ता पुनाराम पोखरेल, जनमोर्चाका अध्यक्ष बद्रे आलम, जनमुक्तिका अध्यक्ष झमबहादुर गुरुङ्गलगायतका नेताहरुले अहिलेसम्म यहीँ नै हुने भनेर कुनै टुंगो नलागेको बताउँछन् । सत्तारुढ दलहरु एकातिर, प्रतिपक्षी दलहरु अर्कोतिर हुन्छ कि भन्ने जिज्ञासामा दुबै खालको एउटै जवाफ थियो–त्यो कुनै टुंगो छैन र यहीँ नै हुन्छ भन्ने नै छैन । कांग्रेस सभापति रज्जाकले तालमेल हुने सम्भावना नरहेको बताए । ‘अहिले नै यहीँ हुन्छ भन्ने छैन जे पनि हुन सक्छ’ रज्जाकको भनाइ छ ।
माओवादी केन्द्रका पोलिटब्यूरो नेता दधिराम न्यौपाने (एमएस) ले तालमेल हुने तर अहिलेसम्म यो दलसितै मिल्ने भन्ने कुनै टुंगो नलागेको बताए । ‘मुख्य कुरा चुनावको हो, चुनाव हुनुप¥यो, मुद्दा, एइजेण्डा मिल्ने दलसित तालमेल हुन सक्छ, केन्द्रबाट यो नै हुने भन्ने केही आएकै छैन’ उनको भनाइ थियो ।
एमाले रुपन्देहीका अध्यक्ष सुवेदीले लोकतान्त्रिक, राष्ट्रिय हीतका लागि निरन्तर खटेका जुनसुकै दलहरुसित पनि सहकार्य हुनसक्ने सम्भावना रहेपनि यो नै हुने भन्ने कुनै टुंगो नरहेको बताए । ‘संविधान कार्यान्वयन, समृद्धि, सामाजिक सद्भाव, राष्ट्रिय एकता, स्वाभिमानसहित विकासवादी पथमा रहेका जुनसुकै दलहरुसित पनि सहकार्य हुन सक्छ’ सुवेदीले भने ।
राप्रपाका प्रवक्ता पोखरेलले सांसद् दीपक बोहोरासितको अगुवा छलफल पछि एकखालको निश्कर्षमा पुगिने बताए । बोहोरको उपस्थितिमा आज भैरहवामा अगुवा भेला हुन लागेको उनले बताए । उनले स्पष्ट नीति, सिद्दान्त र राष्ट्रियताका विषमा गम्भीर जुन दल छ त्यहीँ दल प्राथमिकतामा पर्ने बताए ।
राष्ट्रिय जनमुक्तिका जिल्ला अध्यक्ष झमबहादुर गुरुङ्गले अहिलेसम्म स्पष्ट राष्ट्रवादी दल कुनै नदेखिएकाले अहिलेसम्म भइरहेका गतिविधिका आधारमा तालमेलका लागि छलफल हुने बताए । उनले अनौपचारिक रुपमा छलफलहरु भइरहे पनि यो दलसितै मिल्ने भन्ने कुनै टुंगो नलागेको बताए ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष बद्रे आलमले चार अतिवादी शक्तिबाहेकका सित जुनसुकै दलसित तालमेल हुन सक्ने बताए । पार्टीले किटान गरेका अतिवादी दलहरु राजावादी, जातीयवादी, मधेशवादी र नयाँशक्ति रहेको उनले बताए । स्पष्ट नीति, सिद्दान्त र राष्ट्रियताका विषमा गम्भीर दलसित तालमेल हुन सक्ने उनले बताए ।
रुपन्देहीमा जनसंख्या र कहाँ कति मतदाता ?
आसन्न चुनावमा रुपन्देहीमा मात्रै ४ सय ५५ जना जनप्रतिनिधिहरु चुनिने छन् । रुपन्देहीको जनसंख्या करिब १२ लाख जति रहेको छ । यहाँको मतदाता संख्या चार लाख ६५ हजार तीन सय १९ रहेको छ । ०७० मंसिर ४ गते सम्पन्न भएको संविधानसभाको अर्को चुनावमा यहाँको मतदाता संख्या तीन लाख ८८ हजार तीन सय १६ थियो ।
रुपन्देहीमा एउटा उप–महानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिका छन् । यी सबैमा गरेर एक सय ५५ वटा वडा तह कायम भएका छन् । बुटवलको जनसंख्या एक लाख ३८ हजार ७ सय ४२ र मतदाता संख्या ६६ हजार ९० छ । महिला ३१ हजार पाँच सय चार र पुरुष ३४ हजार पाँच सय ८४ छन् । बुटवलमा तेस्रो लिङ्गी मतदाता दुई जना छन् । तिलोत्तमा नगरपालिकामा जनसंख्या एक लाख एक सय ४९ र मतदाता संख्या ६० हजार एक सय ३३ छ । पुरुष ३१ हजार आठ सय १३, महिला २८ हजार एक सय ३९ र तेस्रो लिङ्गी एक जना छन् ।
यस्तै सैनामैना नगरपालिकाको जनसंख्या ५५ हजार ८ सय २२ र मतदाता संख्या ३५ हजार नौ सय ६६ छ । पुरुष १९ हजार ९१ र महिला १६ हजार आठ सय ७५ रहेको छ । देवदह नगरपालिकाको जनसंख्या ५३ हजार पाँच सय २३ र मतदाता संख्या ३२ हजार तीन सय २५ रहेको छ । पुरुष मतदाता १६ हजार सात सय ७१ र महिला १५ पाँच सय ५४ छन ।
यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिकाको जनसंख्या ७२ हजार चार सय ९७ र मतदाता ३४ हजार एक सय १६ रहेको छ । पुरुष १९ हजार पाँच सय ४८, महिला १४ हजार पाँच सय ६७ र तेस्रो लिङ्गी एक जना छन् । सिद्धार्थनगर नगरपालिकाको जनसंख्या ६३ हजार ४ सय ८३ र मतदाता ३३ हजार ५ सय १५ छन् । पुरुष १७ हजार छ सय ४७ र महिला १५ हजार नौ सय ६८ रहेका छन् ।
यतातिर के–कस्तो होला तालमेल ?
