बुटवल, । बुटवलबाट एशियन सेक्युरिटिज प्रा. लि. ले सेयर कारोबार सुरु गरेको छ । यो ब्रोकर नं. २६ हो । एशियनको कारोबार सुरुवातसँगै यस क्षेत्रका लगानीकर्तालाई सेयर कारोबारमा थप सहजता थपिएको छ । यसअघि बुटवलमा अन्य सेक्युरिटिजका शाखाहरुले पनि कारोबार सुरु गरिसकेका छन् ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएर एशियनले बुटवलबाट कारोबार सुरु गरेको हो । धितोपत्र बोर्डले देशका विभिन्न स्थानमा सेयर कारोबारका लागि विभिन्न ब्रोकरलाई अनुमति दिएको थियो । यस क्षेत्रका शेयर लगानीकर्ताहरूलाई छिटो र सरल तरिकाबाट शेयर÷खरिद बिक्री गराउने उद्देश्यले कारोवार सुरू गरिएको सेक्युरिटिज प्रा.लि. का अध्यक्ष रुद्र प्रसाद शर्माले बताए । एशियनको बुटवल शाखा पश्चिमाञ्चल फाइनान्स कम्पनी नजिकै रहेको छ । शाखाबाट तत्काल सेयर कारोबार मात्र गरिए पनि निकट भविष्यमा डिपीको काम समेत गरिने शर्माले बताए । उनले बुटवल शाखाबाट साना÷ठूला जुनसुकै सेयर खरिद बिक्री गरिने बताए ।
कारोबार सुभारम्भ गरेकैं दिन ४० लाख रुपैंयाँको सेयर खरिद–बिक्री भएको अध्यक्ष शर्माले जानकारी गराए । शेयर खरिद–बिक्री गर्दा ०.६ देखि ०.४ प्रतिशतसम्म कमिशन लिने जानकारी गराए । प्रा.लि.को केन्द्रीय कार्याल काठमाडौँमा रहेको छ । एशियनले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसाय तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट कारोवारको अनुमति पाएको छ ।
शेयर कारोबारका लागि अनिवार्य डिपी खाता, बैंक खाता ब्रोकर र अर्डर फर्म भर्नुपर्ने हुन्छ । कुनै पनि कम्पनीको सेयर हुँदैमा यसको खरिद–बिक्री हुँदैन । यसका लागि विभिन्न प्रक्रियाहरु पूरा गर्नुपर्ने हुन्छ । कागजी सेयर प्रमाणपत्रहरुलाई डिम्याट अनिवार्य गरिएको छ । अचेल डिम्याट खाताबिना कुनै पनि कम्पनीको सेयर आवेदन समेत गर्न पाइँदैन । यस क्षेत्रका अधिकांश लगानीकर्ताहरूले बैंक, इन्सुरेन्स, लघुवित्त र हाइड्रोपावरमा लगानी गरेका छन् । सबैभन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुको सेयर कारोबार हुने जनाइएको छ ।
बुटवलबाट एशियन सेक्युरिटिजको कारोबार सुरु
