गुल्मी, । स्थानीय तहको निर्वाचनमा गुल्मीमा एमाले र माओवादी केन्द्रबीच भएको तालमेल संकटमा परेको छ । जिल्लामा रहेका २ नगरपालिका र १० गाउँपालिकाका बिभिन्न पदहरू बाँडेर प्रतिस्पर्धामा जाने सहमति भएको केही दिनभित्रै सहमति संकटमा परेको हो । चुनावी तालमेलका विषयमा एमाले र माओवादी केन्द्रका नेताहरूबीच विश्वासको संकट देखिएको स्थानीय नेताहरूले बताएका छन् । गत वैशाख ८ गते बिज्ञप्ति जारी गरेर एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरेर जाने सहमति गरेका थिए ।
पूर्व सहमतिअनुसार एमाले माओवादी केन्द्रलाई ३ गाउँपालिकाको प्रमुख, ६ वटा गाउँपालिकामा उपप्रमुख र २४ वटा वडा अध्यक्षसहित चुनावी तालमेल भएको थियो । तालमेलको एमालेका कार्यकर्ताबाट बिरोध भएपछि चुनावी तालमेल संकटमा परेको छ । एमालेका स्थानीय नेताहरूले कार्यकर्ताको चर्को बिरोध र मतपत्र पनि तलमाथि भएकाले धेरै मतपत्र बदर हुने सम्भावना आएकाले एमाले–माओवादीबीचको तालमेल अन्योलमा परेको खुलासा गरे ।
जिल्लामा रहेका कुल ९३ वडामध्ये बाँकी वडामा एमालेले अध्यक्ष पाउने सहमति भएको थियो । दुई पार्टीको तालमेल अनुसार २ वटा नगरपालिका र ७ गाउँपालिकामा एमालेको तर्फबाट प्रमुख पाउने सहमति भएको थियो । माओवादी केन्द्रलाई धुर्कोट गाउँपालिका, मालिका गाउँपालिका र चन्द्रकोट गाउँपालिका दिने सहमति भएको थियो । एमालेले माओवादीलाई दिएको भनिएका यी गाउँपालिकाहरूमा पनि उम्मेदवार उठाएपछि विवाद बाहिर आएको हो ।
माओवादी केन्द्रलाई दिएका गाउँपालिकामध्ये धुर्कोट गाउँपालिकामा एमालेको तर्फबाट कृष्ण घिमिरे अध्यक्षमा उम्मेदवार बनेका छन् । मालिका गाउँपालिकाबाट रितबहादुर थापाको उम्मेदवारी दिने एमालले निर्णय गरिसकेको छ । माओवादी केन्द्रलाई दिएको चन्द्रकोट गाउँपालिकामा एमालेको तर्फबाट मिमलाल श्रेष्ठलाई अध्यक्ष पदमा उम्मेदवार बनाउने निर्णय भएको छ ।
गुल्मीका २ नगरपालिकामध्ये रेसुङ्गा नगरपालिकामा नेपाली कांग्रेसको बाहुल्यता रहेको छ । मुसीकोट नगरपालिकाम एमालेको बाहुल्यता रहेको छ । गुल्मीमा नेपाली कांग्रेस र एमालेबीच नै कडा प्रतिस्पर्धा हुने स्थानीयको भनाइ छ । गुल्मी जिल्लामा रहेका तीन क्षेत्रमध्ये २०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेसले दुई र एमालेले एक सिट जितेका थिए ।
गुल्मीमा ‘एमाले–माओवादी’ चुनावी तालमेल बिथोलियो
