काठमाडौ: तीन वटा प्रदेशका ३४ जिल्लामा रहेका दुई सय ८१ स्थानीय तहमा ७१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । राजनीतिक दलका प्रतिनिधिको रोहवर वा उपस्थितिमा मतदाताले गोप्य मतदान मार्फत व्यक्त जनादेश अव मतपेटिकामा संङग्रहीत भएको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताउनुभयो ।
निर्वाचन परिणामप्रति बिश्वास गर्न,मतदाताको मतादेशलाई पूर्ण सम्मान गर्न समस्त राजनीतिक दल,उम्मेदवारहरुलाई निर्वाचन आयोगले अपिल गरेको छ । मतदाताले व्यक्त गरेको मतलाई लिएर उत्तेजनामा नआउन,संयमता प्रदर्शन गर्न रलोकतान्त्रिक पद्धति र प्रक्रियाप्रतिको प्रतिबद्धतालाई पुन अभिव्यक्त गर्न आयोगले सबै सरोकारवालासँग अनुरोध गरेको छ ।
निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा छिटपुट घटना बाहेक शान्तिपूर्ण,उत्साहजनक र मतदाताको व्यापक सहभागितामा निर्वाचन भएको जानकारी गराउँदै यादवले तीन वटा केन्द्रको मतदान स्थगित भएको बताउनुभयो ।
काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ४ र कालिकोटको कालिका गाउँपालिका बालाचौर आधारभुत बिद्यालयमा रहेको मतदान केन्द्र र दोलखाको मेलुङ गाउँपालिका अन्तर्गत सत्यश्वर माविमा रहेको मतदान केन्द्रमा मतदान स्थगित भएको हो ।
सिन्धुपाल्चोकस्थित सम्वाददाता युवराजपुरीका अनुसार भोटसीपा गाउँपालिकाको चण्डेश्वरी माद्यामिक विद्यालयमा रहेको केन्द्रमा पनि मतदान स्थगित भएको छ । असक्तहरुलाई मतदान गराउने बिषयमा राजनीतिक दलहरु वीच विवाद भएपछि सो केन्द्रमा मतदान स्थगित भएको हो । सो केन्द्रमा सात सय जना मतदाताले मतदान गरीसकेपछि स्थगित भएको छ ।
मतदानपछि प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले पत्रकार सम्मेलनमा व्यक्त गर्नु भएका जानकारी यहाँ प्रस्तुत गरिएको छ ।