काठमाडौँ, । विपक्षी दलहरुको विरोधका बीच सूचना टाँसेर प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सुरु भएको छ । सत्तारुढ र विपक्षी दलहरुबीच सहमति जुटाउन प्रयास असफल भएपछि सभामुख ओनसरी घर्ती मगरले सूचनामार्फत नै बहुमतीय प्रक्रियाबाट सरकार गठन गर्न राष्ट्रपति विद्या भण्डारीबाट आहृवान भएको जानकारी दिइन् ।
लगतै संसद सचिवालयले प्रधानमन्त्री निर्वाचन तालिका सार्वजनिक गरेको छ । जस अनुसार शनिबार विहान ११ देखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । आइतबार विहान ११ बजेको बैठकमा निर्वाचन हुनेछ ।
भरतपुरमा पुनःमतगणना तत्काल सुरु गर्न माग गर्दै प्रमुख विपक्षी एमालेले लगातार संसद अवरुद्ध गर्दै आएको छ । एमालेको अवरोधकै कारण बहुमतीय सरकार गठनका लागि आहृवान गरिएको राष्ट्रपतिको पत्र समेत पढेर सुनाउन सकिएको थियो ।
विपक्षी एमालेले भरतपुरको मतगणना सुरु नभएसम्म संसद चल्न नदिने अडान लिएको छ र उसले प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया संसदबाटै सुरु गर्नु पर्ने बताएको थियो । तर, सत्तारुढ दलहरुले भने सूचना टाँसेर भएपनि प्रक्रिया सुरु गर्नु पर्ने बताए । सहमतिको प्रयासमा बिहान कार्यव्यवस्था परामर्श समितिको र दिउँसो तीन दलको बैठक बोलाइएको थियो । तर, सत्तापक्ष र विपक्षी दलहरुबीच सहमति हुन सकेन । यसैबीच प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले कांग्रेस–माओवादी केन्द्रवीचको गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवाबाहेक अरु जो आएपनि प्रधानमन्त्री निर्वाचनमा आफ्नो पार्टीले समर्थन गर्ने स्पष्ट पारेका छन् ।
पोखरेलले कांग्रेस र माओवादी केन्द्रकै गठबन्धनबाट देउवाबाहेक नयाँ विकल्प अघि सारिए आफ्नो पार्टीले समर्थन गर्न सक्ने संकेत गरे । उनले भने,‘कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट देउवाजीबाहेक अरु कोही वा विकल्प अघि सारिन्छ भने हामी समर्थन गर्छौँ । ’
शुक्रबार रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा पोखरेलले कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा उठे आफ्नो पार्टीले कुनै पनि हालतमा समर्थन नगर्ने बताएका हुन् । उनले भने, ‘कांग्रेस सभापति देउवाजीलाई प्रधानमन्त्री बन्न हतारो छ, सत्ताको लागि उनलाई निकै हतारो देखिएको छ, त्यसैको उपज हो प्रधानमन्त्री प्रचण्डजीको गलत समयमा आएको राजीनामा, त्यसैले हामी यही गठबन्धनका तर्फबाट देउवाजी प्रधानमन्त्रीमा उठे भने हामी कुनैपनि हालतमा उनलाई समर्थन गर्न सक्दैनौँ ।’
यदि कांग्रेस र माओवादी केन्द्रले देउवालाई नै प्रधानमन्त्रीको रुपमा अघि सारे आफ्नो पार्टीका तर्फबाट उपाध्यक्ष वामदेव गौतमलाई उठाउने समेत तयारी भएको उनले जानकारी गराए । उनले भने, ‘हाम्रो तर्फबाट वामदेवजीको बलियो सम्भावना छ, हामी उनलाई नै प्रधानमन्त्रीमा उठाउँछौँ ।’
प्रधानमन्त्रीको उम्मेदवारी दर्ता आज
