देवदह नगर अस्पताल सोमबार उद्घाटन हुने

मेचीकाली संवाददाता

९ आश्विन २०७९, आईतवार
411 shares

बुटवल । रूपन्देहीको देवदह नगरपालिकाले नगरको गौरवको रुपमा रहेको देवदह नगर अस्पताल सोमबार उद्घाटन गर्ने भएको छ । नगरकार्यपालिकाको १३२ औं वैठकले १० शैयाको नगर अस्पताल उद्घाटन गर्ने निर्णय गरेको हो ।

साउन ३० गतेको कार्यपालिका बैठकले नगर अस्पताल संचालनको लागि आवश्यक पुर्वधार तयारी अन्तिम अवस्थामा रहेकोले १० बेडको नगर अस्पताल संचालन गर्ने निर्णय सर्वसम्मत गरेकोले शुक्रबारको कार्यपालिका बैठकले असोज १० गते अस्पतालको उद्घाटन गर्ने निर्णय गरेको नगर प्रवक्ता गणेश डुम्रेले बताए ।

सोही विषयमा कुरा गर्दै नगरप्रमुख धुव्रप्रसाद खरेलले अस्पताल संचालनका लागि देवदहका राजनीतिक दल समेत सहमत र उत्साहित रहेको बताए । नगरप्रमुख खरेलले देवदहका जनताको स्वास्थ्य संबेदनसिलता जोडिएको विषय भएकोले अस्पताल संचालनलाई बजेटमा पनि महत्त्व दिईएको बताए ।

साथै नगर अस्पताल संचालनका लागि कार्यपालिकाले संचालन तथा व्यवस्थापन समिति गठन गर्ने निर्णय समेत गरेको छ । गठन गरिएको ११ सदस्यीय समितिमा नगर प्रमुख धुर्ब प्रसाद खरेल संयोजक, उपप्रमुख विद्यालक्ष्मी गुरुङ सह–संयोजक रहेका छन् भने सदस्यमा प्रमुख प्रशासकिय अधिकृत प्रदीप पौडेल, नगर प्रवक्ता गणेश डुम्रे, सामाजिक विकास समितिका संयोजक समेत रहेका वडा नं. ८ का अध्यक्ष हरि पाण्डे, वडा नं. १० का अध्यक्ष यक बहादुर सुनार, वडा नं. ११ का अध्यक्ष दुधनाथ यादब तथा कार्यपालिका सदस्यहरू रुपा ढुंगाना र लक्ष्मी विक रहेका छन् ।