प्रकाश आचार्य
बुटवल, । निर्वाचनको मिति नजिकिँदै गर्दा बुटवलमा उम्मेदवारहरू मतदातासमक्ष पुग्नेक्रम बढिरहेको छ । उनीहरुले आफ्नो पक्षमा मत पार्न आश्वासनका पोका फ्याकिरहेका छन् । बुटवललाई सबल आर्थिक केन्द्र, सुकुम्बासीलाई लालपुर्जादेखि स्मार्ट सिटी गराउने जस्ता कुरा सबै पार्टीका उम्मेदवारले मतदातालाई फाल्दै आफूलाई सहयोग गर्न आग्रह गरिरहेका छन् ।
मुलुकका अन्य सहरहरूलाई उछिनेर बुटवलले आर्थिक तथा पूर्वाधारमा छलाङ मारेको छ । प्रदेश नम्बर पाँचको सम्भावित राजधानीको रूपमा रहेको बुटवलमा आफ्नो नेतृत्व स्थापित गर्न प्रमुख राजनीतिक दलहरू (एमाले, कांग्रेस, माओवादी केन्द्र) कम्मर कसेर लागेका छन् । एमाले आफ्नो साख जोगाउने कसरतमा छ भने, कांग्रेस विगतको इतिहासलाई तोड्दै आफ्नो नेतृत्व स्थापित गर्ने दौडमा छ । माओवादी केन्द्र भने कांग्रेस वा एमाले जुनसुकैसँग मिलेर भए पनि उपमेयर फुत्कन नदिने मनस्थितिमा छ ।
शक्तिका हिसाबले बुटवल उपमहानगरपालिमा एमाले पहिलो देखिन्छ । कांग्रेस एमालेभन्दा केही कम दोस्रो शक्तिमा छ । भने माओवादी केन्द्र तेस्रो स्थानमा देखिन्छ । एमालेबाट बुटवल उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार शिव सुवेदीले एमालेले कसैलाई आवश्वासनको पोको नबाड्ने बताए । उनले भने, ‘एमाले काम गर्ने पार्टी हो अरूले त गफ मात्रै गर्दै आएका छन् । विगतको निर्वाचन हेर्नुहोस् । हामीले जित्नेमा कुनै शंका छैन ।’
घरदैलो अभियानका क्रममा विभिन्न वडाहरूका मतदातासमक्ष आफ्ना मतदातासँग मत माग्दै हिँडेका सुवेदीले थपे, ‘हामीले ठूला–ठूला आश्वासनका पोका बोकेर निर्वाचनमा होमिएका होइनौँ गर्न सक्ने कामलाई दाबीका साथ गर्छौँ भनेका हौँ । हाम्रो जित निश्चित छ ।’ १९ वडा रहेको बुटवल उपमहानगरपालिकामा १३ वटामा एमाले बलियो देखिन्छ । अन्य ६ वटा वडाहरूमा एमाले र कांग्रेस बराबरी जस्तै देखिन्छन् । भने, माओवादी केन्द्र कुनै पनि वडामा बलियो देखिँदैन । बुटवल १ मा एमाले कांग्रेस प्रतिष्पर्धा, २, ३, ४ एमाले बलियो ५ मा कांग्रेससँग प्रतिष्पर्धा ६, ७, ८ मा एमाले बलियो ९ मा प्रतिष्पर्धा, १०, ११ एमाले बलियो १२ मा प्रतिष्पर्धा १३, १४ मा एमाले बलियो १५ मा प्रतिष्पर्धा १६ मा बलियो १७ मा प्रतिष्पर्धा १८ र १९ मा एमाले बलियो देखिन्छ ।
२०७० र २०६४ को संविधानसभामा निर्वाचनमा एमाले उपमहासचिव विष्णु पौडेलले बुटवल (रूपन्देही क्षेत्र नम्बर ४) बाट निर्वाचन जितेका थिए । २०५४ सालको स्थानीय निकायको निर्वाचनमा तत्कालीन बुटवल नगरपालिकाको मेयरमा एमालेका भोजप्रसाद श्रेष्ठले जित हाँसिल गरेका थिए । २०४९ को स्थानीय निकायको निर्वाचनमा कांग्रेसको सूर्यप्रसाद प्रधानले बुटवलको मेयर जितेका थिए ।
पछिल्लो समय बुटवलमा एमालेले आफ्नो शक्ति बढाउँदै लगेको छ । २०६४ को निर्वाचनमा ३ हजार मतले जितेका पौडेलले २०७० को निर्वाचनमा ६ हजार भन्दा बढी मत अन्तरले तत्कालिन माओवादी केन्द्रका नेता डा. बाबुराम भट्टराईले पराजित गरेका थिए । यद्यपि एमालेको गढका रूपमा रहेको क्षेत्र नम्बर चार अन्तगर्त पर्ने सैनामैना (साविक मुर्गिया गाविस) अहिले बुटवलमा उपमहानगरपालिका भित्र पर्दैन ।
प्रधानमन्त्रीको निर्वाचनपछि रूपन्देहीका उम्मेदवारको टुङ्गो लगाएको कांग्रेसले आफू एक्लै एमालेसँग प्रतिष्पर्धा गर्न नसक्ने देखेपछि बुटवल उपमेयरको पद खाली राखी चुनावमा होमिएको छ । काठमाडौँ नै पुगेर मेयरको टिकट लिएर आएका कांग्रेस बुटवल नगरसभापति खेलराज पाण्डेले यहाँका जनताले आफूलाई मत दिएर न्याय गर्ने बताए । मेचीकाली दैनिकसँग कुराकानी गर्दै पाण्डेले भने, ‘हामी (कांग्रेस) ले यसपटक जित्छ । तर,सजिलो चाहिँ छैन । यस पटक बुटवलका जनताले कांग्रेसको नेतृत्व खोजेका छन् ।’
कांग्रेस बुटवलमा माओवादीसँग मिलेर एमालेको किल्ला भत्काउने रणनीतिमा देखिन्छ । त्यसैले उपमेयर माओवादीलाई दिन कांग्रेस तयार छ । कांग्रेसका एक नेताले भने, ‘अहिलेको स्थानीय चुनावमा पनि बुटवलमा कांग्रेसले जित हाँसिल गर्न नसके त्यसपछिका कुनै पनि निर्वाचनमा कांग्रेसले जित्न सक्दैन । चुनाव जित्न सबै अस्त्र प्रयोग गर्छौँ ।’ बुटवल उपमहानगरपालिकामा ६६ हजार ९० मतदाता रहेका छन् । माओवादी केन्द्रले आफ्नो अस्तित्व कायम गर्न कांग्रेस वा एमाले जुनसुकै पार्टीसँग तालमेल गरेर जान आफू तयार रहेको बताएको छ ।
माओवादी पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले आफूहरू कांग्रेस वा एमाले जुनसुकै पार्टीसँग तालमेल गरेर जान तयार भएको बताए । यद्यपि माओवादी केन्द्र एमालेसँग तालमेल गर्न तयार भए एमालेले उपमेयर गोमा आचार्यलाई फिर्ता ल्याएर माओवादी केन्द्रलाई उपमेयर दिन सक्ने पनि बताइन्छ । ‘हाम्रो पार्टी मिलेर जाने हो, त्यसको लागि एमाले कांग्रेस दुवै पार्टीसँग छलफल भइरहेको छ ।’ न्यौपानेले भने ।
मिल्ने नीति अनुसार माओवादी बुटवलको मेयरमा न्यौपाने, जिल्ला अध्यक्ष रामप्रसाद बञ्जाडे र जगत पोखरेलको नाम अगाडि सरेको छ । त्यस्तै उपमेयरमा टीका वली, मञ्जु भुसाल र कृष्ण पोख्रेलको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ । यहाँ कांग्रेस र माओवादी केन्द्र मिल्ने सम्भावना बढी छ । माओवादीले व्यवसायिक छविका जगत पोख्रेललाई उपमेयरमा पठाएर कांग्रेससँग तालमेल गर्ने नीति लिइएको बताइएको छ । सत्तारूढ दलहरू यस अगाडि पहिलो चरणको निर्वाचनमा पनि मिलेर चुनाव लडेका थिए । रूपन्देहीमा १६ स्थानीय तह छन् ।
एमाले उपमहासचिवद्वय घनश्याम भुसाल र विष्णु पौडेले आफ्ना उम्मेदवारहरूलाई जिताउन विगत एक हप्तादेखि रूपन्देहीका विभिन्न चुनावी सभामा सहभागी छन् । कांग्रेसका केन्द्रीय स्तरका नेताहरू अहिलेसम्म बुटवलको चुनावी सभाका लागि आएका छैनन् । माओवादी केन्द्रका टोपबहादुर रायमाझी आइतबार बुटवलको चुनावी सभामा सहभागी थिए ।
कसले गर्ला बुटवलको नेतृत्व ?
