तिलोत्तमा, । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले तिलोत्तमा नगरपालिकामा कुनै पनि हालतमा चुनाव जित्न कार्यकर्तालाई निर्देशन दिएका छन् । स्थानीय तहको निर्वाचन पार्टीको प्रतिष्ठासँग जोडिएको र स्थानीय विकास एमालेको नेतृत्वमा मात्रै सम्भव भएको भन्दै उनले नागरिकको मन जित्ने गरी काम गर्न आग्रह गरे । उनले मतदातालाई पार्टीका राष्ट्रिय एजेण्डाबारे बुझाउन र एमालेविरुद्ध फैलाएका भ्रम चिर्न कार्यकर्तालाई निर्देशन समेत दिए ।
आइतबार शंकरनगरमा तिलोत्तमा नगरपालिकाका उम्मेदवारहरुका लागि एमाले तिलोत्तमा नगर संगठन कमिटीले आयोजना गरेको कानूनी प्रशिक्षण कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताएका हुन् । ‘नागरिकको मन जित्ने गरी चुनावी अभियानमा लाग्नुस्, यो चुनाव एमालेले जित्नैपर्ने बाध्यता छ’–उनले भने । एमालेले लिएको अडान र राष्ट्रिय एजेण्डाले मात्रै आम नेपालीको हित गर्ने भएकाले सही पार्टी र उम्मेदवारलाई चयन गर्न पनि उनले आग्रह गरेका छन् ।
एमालेकै कारण पाँच नम्बर प्रदेश विभाजन हुनबाट रोकिएको र यसलाई फेरि विभाजन गर्न षड्यन्त्र सुरु भैसकेको बताउँदै उनले यो कुरा जनतालाई बुझाउन जरुरी रहेको बताए । अर्कोतर्फ तिलोत्तमा नगरको समग्र विकास एमालेको नेतृत्वमा मात्रै सम्भव रहेको पौडेलले बताए । ‘स्मार्ट सिटी, चक्रपथ, व्यवस्थित ल्याण्डफिल्ड साईट, बसपार्क, कृषि, सिँचाइ जस्ता महत्वपूर्ण योजना पूरा गर्ने हैसियत एमालेसँग मात्रै छ’–उनले भने ।
कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज लिला गिरीले एमालेसँग डराएर विपक्षीले गठबन्धन गरेर चुनाव लड्न खोजेको प्रसंग उल्लेख गर्दै तर एमालेले तिलोत्तमामा आफ्नै शक्तिको बलमा चुनाव जित्ने दावी गरे । त्यस अवसरमा साहित्यकार डा. मुरारी पराजुलीले चुनावी अभियानका क्रममा उम्मेदवारहरुले अपनाउनुपर्ने रणनीतिबारे जानकारी गराएका थिए । कार्यक्रममा एमाले नगर संगठन कमिटीका संयोजक यज्ञ गैरे, सहसंयोजक बेद गिरी, क्षेत्रीय अध्यक्ष केशवराज न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
यसैबीच एमालेले तिलोत्तमा नगरपालिका वडा नम्बर ११ मा आइतबार घरदैलो गरेको छ । घरदैलोको नेतृत्व नगर संगठन कमिटीका सहसंयोजक बेद गिरी, क्षेत्रीय सदस्य विष्णु बराल, टेकसिंह थापा, ज्ञानप्रसाद नेपाल, खेमप्रसाद तिवारी, लक्षुराम शर्मा, पूर्णबहादुर गुरुङ, कमल शर्मालगायतले गरेका थिए । चुनावी प्रचार अभियान अन्तर्गत अरु वडाहरुमा पनि घरदैलो कार्यक्रम चलिरहेको एमाले नगर कार्यालय सचिव झविन्द्र भण्डारीले जानकारी दिए ।