कामको सूचि र नयाँ योजना लिएर जनतामा जान आग्रह

एमाले गुल्मी–रुपन्देही सम्पर्क मञ्चको शुभकामना आदानप्रदान कार्यक्रम

मेचीकाली संवाददाता

११ आश्विन २०७९, मंगलवार
470 shares

बुटवल । गुल्मीबाट प्रतिनिधित्व गर्ने एमालेका विभिन्न तहका नेताहरुले पार्टीको नेतृत्वमा सरकारमा जाँदा भएगरेका महत्वपूर्ण कामको सूचि लिएर जनताका घरदैलोमा जान कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । पार्टीको गुल्मी–रुपन्देही सम्पर्क मञ्चले बुटवलमा आयोजना गरेको चाडपर्व लक्षित शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी पार्टीका नेताहरुले भएगरेका कामको सूचि र अब गर्ने कामका योजनासहित जनताका घरदैलोमा जान निर्देशन दिएका हुन् ।

देश विकासको खाका र प्रष्ट भिजनका साथ आफुहरु राजनीतिमा होमिएको भन्दै नेताहरुले यसअवधिमा भएका राजनीतिक परिवर्तन एवम् तिनमा एमालेले खेलेको भूमिका र सरकारमा रहँदा कामको जनतामा प्रष्ट सन्देश दिन जरुरी रहेकोमा जोड दिएका थिए ।
गुल्मी जिल्लाका विभिन्न ठाउँबाट रुपन्देहीमा आइ बसोबास गरिरहेका तथा विभिन्न पेशा व्यवसायमा रहेकाहरुले एमाले निकटको सम्पर्क मञ्च गठन गरेर विभिन्न अभियान सञ्चालन गर्दै आएका छन् । सोही अभियान अन्तर्गत गुल्मीका सबै निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद, पार्टीको नेतृत्व, अगुवा कार्यकतर्कासमेतलाई रुपन्देहीमा ल्याइ शुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियो ।

सोही कार्यक्रममा गुल्मी–१ बाट निर्वाचित पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवाली, २ बाट निर्वाचित गोकर्णराज विष्ट, प्रदेश सभामा निर्वाचित कमलराज श्रेष्ठ, दिनेश पन्थी, खड्ग केसी, पार्टीका जिल्ला अध्यक्ष बालसिंह काउछा, नेताहरु जंग नेपाली, गणेश खनाल, राजेन्द्र अर्यालसहित पालिकामा निर्वाचित जनप्रतिनिधिसमेतको सहभागिता थियो ।
सोही अवसरमा नेताहरुले पालिका, प्रदेश र संघीय तहमा एमाले नेतृत्वमा भएका कामको सूचि र अब गर्ने कामको योजनासहित घरदैलोमा जान कार्यकर्ताहरुलाई निर्देशन दिएको मञ्चका अध्यक्ष हेम थापाले जानकारी दिए ।

नेताहरुले पार्टीको नीति, सिद्धान्त र विचार मात्रै होइन, सरकारमा जाँदा गरेका काम र प्रतिपक्षमा रहेका बेलामा उठाउने मुद्दाका विषयमा जनतामा सुशूचित हुनेगरी अभियान चलाउन कार्यकर्ताहरुलाई निर्देशन दिएको मञ्चका अध्यक्ष थापाको भनाइ छ । नेताहरुले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा र एमालेको योजनाका बारेमा पनि कार्यक्रममा संक्षिप्त जानकारी गराएका थिए ।

भ्रम र कुप्रचारलाई चिरेर जनतामा जानुस् : ज्ञवाली
पार्टीका उपमसचिव ज्ञवालीले गठबन्धनका नेताहरुले एमालेका विरुद्धमा अनर्गल र कुप्रचार गर्दै भ्रम छर्न सक्ने भएकाले सचेततापूर्वक भ्रमलाई चिर्ने काम गर्नुपर्नेमा जोड दिए । गठबन्धनका नामामा मुलुकमा बेथिति, अनियमितता र भ्रष्टाचार चरम भइरहेको र मुलुकमा आर्थिक बोझ बढिरहेको भन्दै यसलाई रोक्नका लागि र भ्रम चिर्नका लागि पनि अब आउने चुनावमार्फत एमालेलाई प्रष्ट जनादेश दिन जरुरी रहेको नेता ज्ञवालीको भनाइ थियो ।

गठबन्धनका कारण एमालेलाई कुनै असर नपर्ने बरु जनताको साथ दरिलो गरि एमालेमै रहने विश्वास दिलाउँदै नेता ज्ञवालीले गठबन्धनका नालीबेली सबै प्रष्ट थाहा पाइसकेकाले एमाले विरुद्धको घेराबन्दीलाई जनताले नै परास्त गरिदिने दाबी गरे । राष्ट्रियताको मुद्दामा, राष्ट्र निर्माणको मुद्दामा एमाले बलियो खम्बा बनेको देखेर, देशभर एमालेको पक्षमा जनलहर देखेर राष्ट्रघाती सम्झौता गर्ने, महंगी मात्रै उपहार दिने गठबन्धनको सरकार अत्तालिएको ज्ञवालीको भनाइ थियो । उनले एमालेले गरेका काम र अगाडि सारेका योजनालाई लिएर जनताको घरदैलोमा जाने र जनताका सुखदुखमा साथ दिने कामलाई निरन्तरता दिन कार्यकर्ताहरुलाई आग्रह गरे ।

एमालेले गरेका कामको सूचि लिएर जनतामा जाऔं: विष्ट
पार्टीका सचिव विष्टले एमालेको नेतृत्वमा भएका कामको सूचि लिएर जनतामा जानुपर्नेमा जोड दिए । उनले तीनै तहमा भएका कामको सूचि र अबको योजनाका साथ कार्यकर्ताहरु जनताको घरदैलोमा जानुपर्ने आवश्यकता रहेको भन्दै यसले गठबन्धनलै फैलाउने भ्रम पनि चिर्न सजिलो हुने बताए ।

आफुहरुको पहल र नेतृत्वमा भएका कामहरुबारे जनमानसमा आवश्यक जानकारी नहुँदा, बिपक्षीले अनर्गल भ्रम फैलाउँदा तथा मागको तुलनामा पुर्तीको अनुपात नमिल्दा केही गुनासा होलान तर गर्व गर्न लायक धेरै काम गरेको उनले बताए । विष्टले आफुहरुको पहल र नेतृत्वमा गरेका बताउन लायक, सुनाउन लायक नमुना ठूला योजनाहरु देखि हजारौं साना योजना जुन जनताको जीवनमा प्रत्यक्ष सरोकार राख्छन् ती कामको विवरण लिएर जनताको घरघरमा पुग्ने बताए ।

उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज दिनेश पन्थी, केन्द्रीय सदस्य जंग नेपाली, नेता गणेश खनाल, एमाले जिल्ला कमिटी अध्यक्ष बालसिंह काउछा, एमाले उपत्यका विशेष प्रदेश कमिटी सदस्य राजेन्द्र अर्याल, नेकपा एमाले गुल्मी–रुपन्देही सम्पर्क मञ्चका अध्यक्ष हेम थापा, सल्लाहकार लालहरि पाण्डे, उपाध्यक्ष इन्दीरा पाण्डे र सचिव चिरन अर्याललगायतले सम्बोधन गरेका थिए ।