काठमाडौँ, । सरकारले राष्ट्रिय जनता पार्टीलाई स्थानीय तहको निर्वाचनमा सहभागिताको सुनिश्चितताका लागि प्रदेश नं २ को निर्वाचन तेस्रो चरणमा गर्ने भएको छ । प्रदेश नं १, २, ५ र ७ को निर्वाचन यही असार १४ गतेका लागि तोकिएकामा राजपाले आफ्ना माग पूरा नभएसम्म निर्वाचनमा भाग नलिने जनाएपछि सत्तारुढ दलले २ नं प्रदेशको निर्वाचन तेस्रो चरणमा गर्न सहमति जनाएका छन् ।
सरकारले निर्वाचन आयोगको असहमतिकाबीच प्रदेश नम्बर २ को चुनाव आगामी असोज २ गते गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले प्रदेश नम्बर २ को चुनाव राखेर असोज २ मा गर्ने निर्णय गरेको हो ।
प्रदेश नम्बर ३, ४ र ६ मा बैशाख ३१ गते चुनाव भएर भरतपुर महानगरपालिका बाहेकको परीणाम आइसकेको छ । प्रदेश नम्बर १, ५ र ७ मा असार १४ गते हुनेछ । प्रदेश नम्बर २ मा भने असोज २ गते हुनेछ । यसअघि सरकारले राष्ट्रिय जनता पार्टीसँग प्रदेश नम्बर २ को चुनाव सार्ने सहमति जनाएको थियो । तर, यो निर्णयमा निर्वाचन आयोगको असहमति कायमै छ ।
सरकारले यो निर्णयसँगै असार १४ को चुनावमा राजपा सहभागी हुने दाबी गरेको छ । उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले चुनावमा आउन राजपा सहमत भएको बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार सत्तारुढ दल र राजपाका शीर्ष नेताबीचको छलफलले अन्य प्रदेशमा असार १४ गते नै निर्वाचन गर्ने र प्रदेश नं २ मा निर्वाचन आयोगको परामर्शमा तेस्रो चरणमा गर्ने समझदारी भएको नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले जानकारी दिए । उनले राजपालाई निर्वाचनमा सहभागी गराउन सबै प्रकारका प्रयास र गृहकार्य भइरहेको सन्दर्भमा आजको छलफल उपलब्धिमूलक रहेको बताए ।
यो समझदारी पछि असार १४ मा हुने निर्वाचनका लागि उम्मेदवारी मनोनयनको समय केहीदिन थप्न आयोगलाई आग्रह गरिने निधिले बताए । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले यो सहमतिपछि राजपा निर्वाचनमा आउने आफूहरुले अपेक्षा गरेको बताउँदै आयोगको परामर्शमा सरकारले अन्य आवश्यक निर्णय लिने बताए ।
गृहमन्त्री जनार्दन शर्माले सुरक्षाका हिसाबले सबै प्रदेशमा निर्वाचन गर्न सकिने स्थिति भए पनि राजनीतिक सहमतिका आधारमा २ नं प्रदेशको निर्वाचन तेस्रो चरणमा गर्ने विषयमा छलफल भएको बताए । यसअघि सत्तारुढ दल र निर्वाचन आयोगबीचको छलफलमा आयोगले सकेसम्म निर्वाचनको मिति तेस्रो चरणमा नपु¥याउन सुझाव दिएको थियो । काँग्रेसका नेता रामचन्द्र पौडेलले संवैधानिक दायित्व, मुलुकको भौगोलिक स्थिति अन्य तहका निर्वाचन गर्नुपर्ने कार्यभारले गर्दा स्थानीय तहको निर्वाचनको मिति पटक पटक सार्दा निर्वाचन राजनीतिक दुर्घटना पोलिटिकल, इलेक्ट्रोरल, डिजास्टर हुने आयोगले सुझाव दिएको प्रतिक्रिया दिए ।
मनोनयन दर्ताको मिति २ दिन पछि स¥यो
दोस्रो चरणको स्थानीय चुनावको मनोनयन दर्ता दुई दिन पछि सरेको छ । असार १४ गते चुनाव हुने १, ५ र ७ नम्बर प्रदेशको मनोनयन दर्ताको समय सारिएको हो । यसअघि आजलाई मनोनयन दर्ताको समय तोकिएको थियो । अब असार ४ गते आइतबार मनोनयन दर्ता हुनेछ । बिहीबार बसेको सत्तारुढ दल र राजपाका नेताहरुको बैठकले प्रदेश नम्बर २ बाहेकका प्रदेशमा असार १४ मै चुनाव गर्ने निर्णय गरेको छ ।
दुई नम्बर प्रदेशको चुनाब तेस्रो चरणमा
