काठमाडौंः संवैधानिक परिषद्को बैठकले कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीलाई सिफारिस गरेको छ ।
परिषद्को बिहीबार बसेको बैठकले पराजुलीलाई प्रधान्यायाधीशमा सर्वसम्मतरुपमा सिफारिस गरेको हो । उनको नाम संसदीय सुनुवाइ विशेष समितिमा पठाउने निर्णय समितिले गरेको छ ।
यसअघि बसेको समितिको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पराजुलीको नाममा सहमति जनाएका थिएनन् । उनले पराजुलीबारे अध्ययन गर्ने बताएपछि समितिको बैठक निस्कर्षमा पुग्न सकेको थिएन ।
बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले पराजुलीका बिषयमा थप छलफल गरी निर्णय गरेको हो । बिहीबारको बैठकमा एमाले अध्यक्ष ओलीले पनि समर्थन जनाएका छन् ।
प्रधानन्यायधीशबाट सुशीला कार्कीले अवकाश लिएपछि सर्वोच्च अदालत अहिले कायम मुकायमको भरमा चलिरहेको छ । कार्कीपछि पराजुलीले नै कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
यसअघि न्यायपरिषदले पराजुलीसहित सर्वोच्चका ६ जना न्यायाधीशको नाम संवैधानिक परिषद्मा सिफारिस गरेको थियो ।