प्रकाश आचार्य
बुटवल, । कैयौँ पटक सूचना जारी गर्दै स्थगित गर्दै गरेको बुटवलको सडक विस्तारको काम फेरि एक महिना पर सरेको छ । धेरै पटक अतिक्रमण हटाएर विस्तार गर्ने भन्दै सूचना जारी गरिएको यो सडक अब आउँदो भदौ पहिलो साताबाट विस्तार गर्ने तयारी छ ।
बुटवलको सडक (राजमार्गचौराहा–गोलपार्क) आउँदो भदौदेखि विस्तार गर्ने गरी तयारी भइरहेको बुटवल बेलहिया व्यापारिक मार्ग विस्तार परियोजनाले जनाएको छ । राजमार्ग चौराहादेखि गोलपार्क सम्मको करिब ३.७ किमि सडकलाई ६ लेनमा विस्तार गर्न बाँकी छ ।
चौराहादेखि तलको काम भने त्यस्ता अतिक्रमण हटाएर विस्तार भइसकेको छ । कैयौँ पटक चलखेल गर्दै रोक्न लगाउँदै र रोकिँदै आएपनि अब भने नरोकिने गरी काम अगाडि बढ्ने बताइएको छ ।
अहिले चार लेनमा रहेको यो सडकलाई सर्भिस लेन निर्माण गरी ६ लेन (सिक्स लेन) को बनाउने तयारी छ । फुटपाथसमेत अतिक्रमणको अवस्थामा छ । यो सडक खण्डमा कतिपय सरकारी तथा सामुदायिक संचरनासमेत परेका छन् । लुम्बिनी अञ्चल अस्पतालका केही सटरहरुसमेत सडकको क्षेत्राधिकारभित्र पर्ने र पारितिरका व्यवसायिक भवनहरुपनि अधिकांश सडककै क्षेत्राधिकारमा पर्ने बताइएको छ ।
अस्पतालका सटरहरुमा भने व्यवसायीहरुले आफूहरु मर्कामा परेको बताउँदै आएका छन् । केहीले अस्पतालले भित्र सडक बनाउने भन्दै डोजर लगाउँदा सटरका शौचालयहरु भत्किएको, बुझिएको र भाडा अनुसारको सेवासुविधा नपाइएको सटरमा रहेका व्यवसायीहरुले गुनासो गर्दै आएका छन् ।
बेलहिया–बुटवल सडक विस्तार परियोजनाले सोमबार ३५ दिनभित्र सडक सीमामा रहेका घर, टहरा र कम्पाउण्डहरू हटाउन सूचना प्रकाशित गरेपछि अब यो सडक विस्तार हुने निश्चित भएको छ ।
परियोजनाले भदौ ५ गतेसम्म पनि घरधनीहरू सडक अतिक्रमण गरी बनाइएका संरचनाहरू नहटाइएको ६ गतेदेखि डोजर चलाएर भत्काउने तयारी गरेको छ ।
‘हाम्रो पहिलो काम अतिक्रमण गरी बनाइएका घर÷टहराहरू भत्काउने हुनेछ’ परियोजनाका अधिकारीहरुले बताएका छन् । दुई वर्ष अगाडि नैं यहाँका सडक विस्तार गर्ने योजना रहे पनि नाकाबन्दी, भूकम्प र स्थानीय तहको निर्वाचनले गर्दा ढिलाई भएको परियोजनाका इन्जिनियर लिलाबहादुर भण्डारीले बताए । उनले यसपाली भने अब काम नरोकिने स्पष्ट पारे ।
यो सडक निर्माणको काम पनि बुटवल बेलहिया सडक विस्तार परियोजनाले नैं पाएको छ । सूचना प्रकाशित भएपछि यहाँका केही घरधनीहरूले सडक संरचनाभित्र परेका आफ्ना संरचनाहरु आफै हटाउन पनि थालेका छन् ।
यहाँका ३ सय ११ वटा घरहरू सडकसिमाभित्र परेकोले भत्काउनुपर्ने अवस्थामा रहेका छन् ।
सडक विस्तारको जिम्मा कञ्चनजंघा विरूवा जेपी काठमाण्डौले ३० महिनाभित्र निर्माण सम्पन्न हुने गरी ४२ करोडमा ठेक्का लिएको छ । ‘साढे दुई वर्षभित्र यो सडक पूरा हुनेछ’ भण्डारीले भने, ‘हामीलाई कसैलाई अवरोध गर्न खोजमा प्रहरी प्रशासनसहित घरहरूमा डोजर चलाउँने छौँ । आफैं डोजर लगाएर घरहरु भत्काउँछौँ र त्यसको क्षतिपूर्ति पनि घरधनीबाटै भराउँछौँ ।’
सडक विस्तार अन्तर्गत ८२ फुटभित्र परेका संरचनाहरु हटाउनुपर्ने हुन्छ । सडक आसपासका धेरैजसो घरहरु ७५ फुटभित्र बनेको परियोजनाको भनाइ छ । सरकारले देशभरका मुख्य राजमार्गलाई ८२ फुट कायम गराउने अभियानमा जुटेकाले यसको कार्यान्वयन बुटवलमा पनि गर्न लागिएको हो । अब बन्ने मुख्य राजमार्गहरु अन्तर्राष्ट्रिय मापदण्ड अनुसार १ सय ५ फुटका बन्नेछन् ।
सडकको केन्द्रविन्दु (बीचभाग) बाट दायाँ बायाँ २५÷२५ मिटरभित्र पर्ने घरहरु भत्काइने छ । ‘अब बेलहिया–बुटवल परियोजना अन्तर्गत नै बुटवलको सडक पनि बन्ने छ । बुटवलको ५ वर्ष अगाडि फोर लेन सडक बनाउँदा लालपूर्जा नभएकाले ७५ फुटलाई आधार बनाएर निर्माण गरिएको थियो । परियोजनाले २०३४ असार २० गतेभन्दा अगाडि निर्माण भएका घरहरू भएको घरको क्षतिपूर्ति दिने बताएको छ ।
सडक विस्तार गर्दा यहाँका धेरै बैंक तथा वित्तीय संस्था सानुपर्ने अवस्थामा रहेका छन् । परियोजनाले अहिले बुटवलमा आकाशे पुलहरू निर्माणको काम पनि अगाडि बढाएको छ ।अहिलेसम्म बुटवलदेखि मणिग्रामसम्म १० किलोमिटर सडक निर्माण कार्य सम्पन्न भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको यो सडक २७ किलोमिटरको हो ।